म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित हात पारेको छ। घरेलु मैदानमा शनिबार साँझ सम्पन्न खेलमा सिटीले १० खेलाडीमा सिमित लिभरपुललाई ५–० गोलले पराजित गर्यो।
खेलको २४ मिनेटमा सर्जियो अगुइरोको गोलबाट सिटीले अग्रता लियो। अगुइरोले प्रिमियर लिगमा गरेको यो १ सय २४ गोल हो। उनी प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने युरोप बाहिरका खेलाडी बन्न सफल भएका छन्।
खेलको ३७ मिनेटमा लिभरपुल १० खेलाडीमा सीमित बन्यो। लिभरपुलका साडियो मानेलाई रेफ्रिले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए। सिटीका गोलकिपर इडर्सनमाथि डरलाग्दो ट्याकल गरेपछि मानेलाई रातो कार्ड देखाइएको थियो।
पहिलो हाफको इन्जुरी टाइममा ब्राजिलियन फरवार्ड ग्राबियल जेससले सिटीको अग्रता दोब्बर पारे।
दोस्रो हाफमा सिटीले खेललाई पकडमा लियो। ५३ मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीको अग्रता ३–० मा पुग्यो।
लिरोए सेनले ७७ तथा दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गरी दुई गोल गरेपछि सिटीले ५–० को जित निकालेको हो।
जितसँगै सिटी ४ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले लगातार तीन खेलमा जित निकालेर ९ अंक जोडेको छ।
लिभरपुलले भने चार खेलमा ७ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।