म्याड्रिड– स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिड लगातार दोस्रो खेलमा पनि बराबरीमा रोकिएको छ। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको रियललाई लिगको तेस्रो खेलमा लेभान्टेले १–१ गोलको बराबरीमा रोकेको हो।
शनिबार साँझ सम्पन्न खेलको १२ मिनेटमा लोपेज अल्भारेजको गोलबाट लेभान्टेले अग्रता बनाएको थियो। तर, ३६ मिनेटमा रियलका लागि भाज्क्युले बराबरी गोल गरे। खेल सकिन एक मिनेट बाँकी रहँदा डिफेन्डर मार्सेलोले रातो कार्ड पाए। लेभान्टेका जेफर्सन लेर्मामाथि खराब ट्याकल गरेपछि मार्सेलोलाई रातो कार्ड देखाइएको हो।
सुरुको तीन खेलमा रियलले ५ अंक मात्र जोडेको छ। अघिल्लो खेलमा रियललाई भ्यालेन्सियाले २–२ गोलको बराबरीमा रोकेका थियो। पहिलो खेलमा भने रियलले डिर्पाेटिभो ला कोरुनालाई ३–० गोलले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।