नयाँ दिल्ली– भारतीय कप्तान विराट कोहलीले हालै श्रीलंका भ्रमणका क्रममा दुई वटा सतक बनाउँदै अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङको एकदिवसीयमा रहेको ३० सतकको कीर्तिमानलाई बराबरी गरेका थिए।
पछिल्लो केही समयदेखि लगातार उच्च प्रदर्शन गरिरहेका कोहलीले आफू अझै आठ वर्ष राम्रो क्रिकेट खेल्न सक्ने दावी गरेका छन्। आफूले फिटनेस र कठोर ट्रेनिङलाई निरन्तरता दिएको खण्डमा १० वर्षसम्म क्रिकेट खेल्न सक्षम हुने बताए।
कोहलीले पछिल्लो केही समययता थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन्। र, अझै केही कीर्तिमानतर्फ अग्रसर देखिन्छन्। कोहली फिटनेसका कारण चर्चामा पनि आइरहन्छन्। उनी भारतका अग्रज पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकर (४९ सतक) पछि एकदिवसीयमा बढि सतक बनाउने सूचीमा दोस्रो नम्बरमा छन्।
यस वर्ष ६ सतक र ७ अर्धसतकको सहयोगले १ हजार ६ सय ३९ रन बनाएका कोहलीले आरपिएसजी इन्डियन स्पोटर््स अवार्ड कार्यक्रममा भने, ‘लगातार सुधारिएको प्रदर्शनमा लुकाउनु पर्ने केही छैन। धेरैलाई पत्तो नहुन सक्छ, हामी दैनिक कति मेहनत गर्छौ भनेर। मैले हालसम्म कुनै खेलाडी देखेको छैन, जसले ७० प्रतिशत ट्रेनिङ गरेपछि भयो भनेर मैदान छोडेको।’
उनले युवाहरुलाई घरबाट बाहिर निस्किएर क्रिकेट खेल्न सल्लाह दिए। भने, ‘हाम्रो समयमा ग्याजेट थिएन। आजभोली आइफोन र आइप्याडमा सबै झुन्डिएको देख्छु। हाम्रो समयमा कोहीसँग भिडियो गेम भयो भने त्यसको घर गएर खेलको योजना बनाउँथ्यौं। त्यसैले म युवाहरुलाई अपील गर्छु, बाहिर गएर खेल।’ उनले युवाहरुले कुनै न कुनै खेल खेल्नु पर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।