म्याड्रिड– स्पेनिस महारथी रियल म्याड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले बार्सिलोनाका अर्जेन्टायन फरवार्ड लियोनल मेसीलाई क्लबमा भित्राउने चाहाना व्यक्त गरेका छन्। अध्यक्ष पेरेजले मेसी अहिले पनि रियल म्याड्रिडले भित्र्याउन चाहेको खेलाडीमध्ये एक भएको खुलासा गरेका हुन्।
चर्चित र महँगो मूल्यमा खेलाडी रियल म्याड्रिडमा भित्र्याउने अध्यक्षका रुपमा चिनिएका पेरेजले आफ्नो पहिलो कार्यकालमै मेसीलाई भित्र्याउन पहल गरेको खुलासा गरे। सन् २००१ मा मेसी बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए, त्यसको एक वर्षअघि पेरेज रियल म्याड्रिडको अध्यक्ष बनेका थिए। पेरेज अध्यक्ष भएपछि रियलले डेभिड बेक्ह्याम, लुइस फिगो, जिनेदिन जिदान र क्रिस्टियानो रोनाल्डो जस्ता विश्वकै चर्चित खेलाडीसँग मोटो रकममा सम्झौता गरेको थियो।
त्यसक्रममा मेसीलाई पनि क्लबमा भित्र्याउन प्रयास गरेको पेरेजले बताए। पेरेजले भने, ‘मेसी पनि मेरो रोजाइका खेलाडी हुन्,’ स्पेनिस रेडियो नेटवर्क काडेना सेरसँग पेरेजले भने। तर, अब मेसीलाई रियलमा भित्र्याउन गाह्रो भइसकेको पेरेजले बताए। ‘अब बार्सिलोनाका राम्रा खेलाडी भइसकेका छन्, अब मेसीलाई रियलमा भित्र्याउन सजिलो छैन,’ पेरेजले भने। तर आफ्नो चाहाना भने अझै मरिनसकेको पेरेजको भनाइ छ।
मेसी र बार्सिलोनाबीच सन् २०२१ सम्मको सम्झौता छ। बार्सिलोनाका अध्यक्ष जेसेफ बोर्टोमेउले मेसीसँग थप सम्झौता भएको बताए। अध्यक्ष जोसेफले मेसीसँग तीन सम्झौता भएको जनाकारी दिएका छन्। ‘मेसीसँग तीन वटा सम्झौता भएका छन्,’ जोसेफले भने, ‘मेसी, मेसी फाउन्डेसन र मेसीका भाइसँग सम्झौता भएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।