राजविराज– चुरे क्षेत्रबाट सप्तरी हुँदै भारत प्रवेश गर्ने खाँडो खोला नियन्त्रण र व्यवस्थापनका लागि दुई देशको ‘संयुक्त प्राविधिक टोली’ले निरीक्षण सुरु गरेको छ।
भारत सरकारको गंगा फ्लड कन्ट्रोल कमिसन तथा नेपालस्थित सिँचाइ मन्त्रालय र विभागको प्राविधिक टोलीले खाँडो नदीको निरीक्षण सुरु गरेको हो। भारतीय प्राविधिक टोलीको नेतृत्व सिकेएल दास र नेपाली प्राविधिक टोलीको नेतृत्व जल उत्पन्न प्रकोप नियन्त्रण विभागकी महानिर्देशक सरिता दवाडीले गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।
यसअघि गत वर्ष असार १३ मा पनि नेपाल भारत संयुक्त टोलीले खाँडोको पैदलै निरीक्षण गरेको थियो। निरीक्षणमा नेपालको जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप थापा र भारतको केन्द्रीय जलसंशाधन विभागका निर्देशक अजयकुमारको संयुक्त टोली सहभागी थियो।
२०७५ बैसाखमा काठमाडौंमा सम्पन्न प्राविधिक टोलीको बैठकपछि भारतीय पक्ष खाँडोको समस्याप्रति गम्भीर भएको खाँडो नदी नियन्त्रण आयोजनाका प्रमुख विष्णुदेव यादव बताउँछन्। ‘बैठकमा कुरा उठेपछि लगत्तै असारमा भारतीय प्राविधिक टोलीले खाँडाको पैदलै निरिक्षण गर्यो,’ उनले भने, ‘पैदल निरीक्षणका क्रममा खाँडोको प्रभाव र असर बुझेका प्राविधिकहरु पुनः निरीक्षणमा आएका हुन्।’

करिब २८ किलोमिटर बहावपछि भारत प्रवेश गर्ने खाँडो खोलाले नेपाल र भारतको दुवैतर्फ बर्सेनि धनजनको क्षति गर्ने गरेको छ। भारतको कुनौली, कमलपुर, हरिपुर, डगमारा लगायतका गाउँबस्ती खाँडोको प्रकोपमा पर्ने गरेका छन्।
खाँडाको बाढीबाट जोगिन भारतीय पक्षले दशगजासँग जोडेर एकतर्फी बाँध निर्माण गरेका छन्, जसका कारण नेपालतर्फ तिलाठी लगायतका आधा दर्जन गाउँ हरेक वर्ष प्रभावित हुने गरेका छन्। सोही बाँधको मर्मतका क्रममा नेपाली र भारतीय पक्ष बीचमा बेलाबखत झडपसमेत हुने गरेको छ।
बाढीले भत्काएको सोही बाँध मर्मतका क्रममा २०७३ साउन १३ गते दुवै पक्षबीच झडप भयो। तिलाठी निवासी देवनारायण यादव, दुर्गानन्द झा, हर्षवर्धन कर्ण लगायत आधा दर्जन नेपाली झडपमा घाइते भए। प्रहरीका अनुसार झडपमा १० जना भारतीय पनि घाइते भएका थिए।
हालसम्म भएका प्रयास
खाँडाको समस्या समाधान गर्न २०६७ सालदेखि नै नेपाल र भारतपक्षबीच औपचारिक/अनौपचारिक छलफल भइरहेको छ। सन् २०१४ मार्चमा पटनामा भएको दुई देशका जलस्रोत अधिकारीहरुको बैठकमा दशगजा हुँदै भारततर्फ बग्ने नदीको निकासका लागि विस्तृत योजनासहित काम अघि बढाउने सहमति भयो। सहमति अनुसार आव २०७२/७३ मा नेपालको सकरपुरादेखि भारतको विहारस्थित डगमारासम्म ज्वाइन्ट सर्भे गरी संयुक्त कार्ययोजना समेत तयार भएको छ। भारतको सीमावर्ती क्षेत्र कुनौलीबाट दसगजा हुँदै खाँडको पानी भलुवाही खोलामा खसाउने कार्ययोजना हालसम्म कार्यान्वयन भएको छैन।
.jpg)
हरेक पटक हुने दुईदेशीय बैठकमा नेपाली पक्षले कुरा उठाउने गरे पनि भारतीय पक्षले चासो दिएको छैन।
भारतीय अनुदानमा काम हुने
भारतले नेपालका खाँडो, पश्चिम राप्ती, वाणगंगा लगायतका नदीको व्यवस्थापनका लागि सहमति जनाएको छ। सोहि सहमति अनुसार आउँदो वर्षदेखि खाँडो नदीको सम्पूर्ण व्यवस्थापन भारतीय अनुदानमा हुने सम्भावना रहेको खाँडो नदी नियन्त्रण आयोजनाका प्रमुख यादवले जानकारी दिएका छन्।

नेपालका तर्फबाट खाँडो व्यवस्थापनको प्रस्तावसमेत पेस भएको उनको भनाइ छ। भारतले पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणतर्फ नदीको व्यवस्थापनका लागि सहमति जनाएको छ। तर, नेपालका तर्फबाट राजमार्ग उत्तर पनि काम गर्ने गरी प्रस्ताव भएकाले त्यसमा केही असहमति रहेको उनले बताए। यसका अतिरिक्त भारतीय पक्षले खाँडोलाई तिलाठीस्थित पुल हुँदै लालापट्टी भएर निकास दिनुपर्ने प्रस्ताव गरेका छन्। नेपालले अहिलेकै बहाव क्षेत्र भएर पानीको निकास निकाल्नुपर्ने प्रस्ताव गरेकाले त्यसमा पनि सामान्य असहमति रहेको यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।