देशमा तमाम समस्या र बेथितिलाई समेटेर पशुपति शर्माले गीत बनाए- 'लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट'। शब्द चयन गर्ने क्रममा सर्जकले पनि धेरै पटक सोचविचार गरेकै थिए होलान्। ठूलाठूला भ्रष्टाचार, लुटपाट, बलात्कार, बेरोजगारी, महँगी जस्ता समाचार दिनदिनै सुन्दा र पढ्दा शर्माको मनमा एक किसिमको वितृष्णा पैदा भयो होला। जस्तो कि आम जनताको। देशको समग्र अवस्था एउटै गीतले छर्लंग पारिदियो। तर, सत्तापक्षीय केही समूह गीतको आलोचामा उत्रिए। सर्जकले पछि युट्युबबाट गीत हटाउन बाध्य भए।
यो गीत त एउटा सन्दर्भ मात्रै हो। मैले यहाँ कुरा गर्न खोजेको हाम्रो देश कता र कुन बाटोमा हिँडिरहेको छ भन्ने हो।
हरेक दिनजसो मिडियामा छाइरहने बलात्कार, बेरोजगारी, महँगी, बन्द विरोधका समाचारले हामी कुन बाटोमा लम्किरहेका छौं भन्ने हो। हामी हरेक कुरालाई किन राजनीतिक रुपमा मात्र सोच्ने गर्दछौं? के समाजमा राजनीतिक दलको लेपन लगाएर बाहेक सामाजिक रुपमा सोच्न नेपाली समाजले बन्द गरिसकेको अवस्था हो र?
आइतबार मात्रै काठमाडौंका विभिन्न ठाउँमा बम विस्फोटका घटना भए। ४ जनाले ज्यान गुमाए भने ७ जना घाइते अवस्थमा छटपटाइरहेका छन्। यसलाई पनि सामाजिक सञ्जालमा राजनीतिक रङ दिएको देखियो। यो घटना सरासर गलत र कानुनविपरीत छ, यसमा दुई मत छैन। जति निन्दा गरे पनि कम हुन्छ।
दशक लामो सशस्त्र युद्धमा १७ हजारभन्दा बढी नेपालीले ज्यान गुमाए। कैयौं आफन्त बेपत्ता छन् अझै। भौतिक संरचनाको क्षति कति भयो? युद्धका घाउहरु अझै निको भएका छैनन्। के फेरि पनि नेपालमा यस्तै हिंसा र रक्तपात सुरु हुन लागेको हो? निर्दोष सर्वसाधारण पनि घरबाट बाहिर निस्कन डर मान्नुपर्ने अवस्था किन बनिरहेको छ? कुन कारणले यस्तो भयावह अवस्था सिर्जना भइरहेको छ?
राजनीतिमा फरक विचार र मत राख्न पाउनु सबै नागरिकको अधिकारको कुरा हो तर फरक विचार राख्न पाउनुपर्छ भन्दै गर्दा के निर्दोष जनतालाई त्रासमा राख्न पाइन्छ? यो प्रश्नको जवाफ कसले दिने? पक्कै जिम्मेवार राज्य नै हो। वर्तमान सरकार नै हो। के कारणबाट यसखाले रक्तपातपूर्ण अवस्थाले प्रश्रय पाइरहेको छ? त्यसको कारण र समाधान खोज्ने कर्तव्य सरकारकै हो।
हिजोको विस्फोटको घटनाबारे सदनका जानकारी गराउँदै गृहमन्त्री रामबहादुर थापा बादलले विस्फोट गराउनेहरु सर्वसाधारण जनता होइनन्, विप्लव निकटका हुन् भनेछन्। के जिम्मेवार पदमा रहेकाहरुले बोल्दा विचार गर्नुपर्दैन? के मारिने नेपाली नागरिक नै होइनन् त? के हिजो आफूले गोलाबारुद बोकेर हिँड्दा सबै ठिक, आज अर्कोले बोक्दा गलत?
हिंसापूर्ण आन्दोलन हिजो पनि गलत थियो। आज पनि गलत नै हो। हिजोको युद्धले नेपालको विकास ५० वर्षभन्दा पछि धकेलिएको छ। अबका यसखाले प्रवृत्तीले फेरि देशलाई कति पछाडि धकेल्ने हो? देशको विकास र परिवर्तनलाई अवरोध गर्ने छुट कसैलाई छैन।
सत्तामा रहेका नेताहरुलाई प्रश्न छ- तपाईंहरुसँगै हिजो 'जनयुद्ध' लडेका तपाईंका सहयोद्धाहरु फेरि किन र केका लागि आज विद्रोहको नाममा हिंसालाई साथ लिइरहेका छन्? नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाइसकेको अवस्था छ। त्यसपछि विस्फोटका घटना बढ्दै गएको जगजाहेरै छ। के प्रतिबन्ध नै अन्तिम अस्त्र हो?
दसवर्षे युद्धमा मर्ने पनि नेपाली नै थिए। हिजो घट्टेकुलो र सुकेधारामा मर्नेहरु पनि नेपाली जनता नै हुन्। एक्काइसौं शताब्दी गोलाबारुदले हैन विकास र प्रबिधिले चल्ने हो, यो कुरा दुवै पक्षले बुझ्नु जरुरी छ। अन्तिम विकल्प दुवै पक्ष जिम्मेवार हुनु नै हो।
नेपालको वैदेशिक व्यापार घाटा वार्षिक बजेटभन्दा बढी हुने देखिएको समाचारहरु आएका छन्। कुनै पनि विकास आयोजना निर्माण व्यवसायी आफैले गर्ने होइन। मजदुर चाहिन्छ। अहिले देशबाट ठूलो संख्याका जनशक्ति खाडी र अन्य मुलुक गइरहेका छन्। देशमा कलकारखाना खोलेर रोजगार दिनुको साटो राज्यले युवालाई विदेश निर्यात गरिरहेको छ। यता निर्माण क्षेत्रमा कामदारको अभाव झेलिरहनुपरेको छ। हाम्रा युवाले खाडी मुलुकलाई कुँदिरहेका छन्। तर, देश भताभुंग बन्दै गइरहेको छ। हाम्रो माग र आपूर्तिको चक्र नमिलेर यस्तो भएको हो। हामीलाई कामदार चाहिएको छ, विदेश जाने कामदारलाई काम। तर, यी दुईलाई जोड्ने कुनै पनि संरचना वा संयोजन गर्ने निकाय वा व्यवस्था छैन।
हामी सम्पूर्ण रुपमा आयतामुखी अर्थतन्त्रमा निर्भर भइसकेको अवस्थाको सुरुवाती दिनमा छौं। जसलाई यस्ता घटनाले अझ बढी प्रोत्साहन गर्नेछ। आजको संसारमा बिना वैदेशिक लगानी कुनै पनि देशले प्रगति गर्न सक्दैन। वैदेशिक रोजगारी बाध्यता कि रहर भन्ने कुरामा पनि बहसको खाँचो छ। हामी सम्पूर्ण रुपमा आयतामुखी अर्थतन्त्रमा निर्भर भइसकेका छौं, जसले गर्दा भोलिका दिन महँगी अझ चुलिनेमा दुईमत नै छैन। बलियो सरकारको पालामा पनि हामीले राम्रो जग बसाल्न सकेनौं भने हामी अझ पछाडि धकेलिँदै जानेछौं।
आज देशको यो अवस्था आउनुमा राजनीतिक दल मात्र होइन तपाईं-हामी नागरिकको पनि ठूलो हात छ। हामीले कहिले पनि समाज र देशका लागि सोचेनौं। सधैंभरि राजनीतिक दलका कार्यकर्ता भएर मात्र बाँच्यौं। आफ्ना नेतालाई असर पर्ने हो कि भनेर सहीलाई सही गलतलाई गलत भन्न सकेनौं। यही हाम्रो कमजोरीका कारण आजको भयावह स्थिति आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।