सन् २००२ देखि प्रयोगमा आएको टोमोथेरापी क्यान्सर उपचारको परम्परागत रेडियोथेरापीभन्दा आधुनिक प्रविधि हो। टोमोथेरापीमा विकीरण (रेडिएसन) का माध्यमबाट त्रीआयामिक रुपमा क्यान्सरग्रस्त कोषको उपचार गरिन्छ। हरेकपटक रेडियोथेरापी गर्नुअघि ‘कम्प्युटेड टोमोग्राफी’ (सिटी) स्क्यानरले रौं बराबर पनि फरक नपर्ने गरी ठ्याक्कै क्यान्सरग्रस्त कोषमा रेडिएसन दिनुका साथै ट्युमरमा हुने परिवर्तन अनुगमन गरी त्यसै अनुरुप रेडिएसन सुनिश्चित गर्छ।
टोमोथेरापीले क्यान्सरग्रस्त कोषमा मात्रै रेडिएसन दिने भएकाले क्यान्सर भएको भागको वरिपरिका स्वस्थ कोषमा रेडिएसनको प्रभाव पर्दैैन। त्यसैले रेडियोथेरापीको तुलनामा टोमोथेरापीबाट उपचार गर्दा रेडिएसनको साइड इफेक्ट न्यून हुने वीर अस्पतालका रेडिएसन अंकोलोजिस्ट डा. विवेक आचार्य बताउँछन्। डा. आचार्यका अनुसार सिटी स्क्यान जस्तै टोमोथेरापी उपकरण चौँडा, खुला र गोलाकार भएकाले बिरामीले सजिलोसँग सुतेर उपचार गर्न सक्छन्।
टोमोथेरापीमा ३६० डिग्रीबाट बिरामीको शरीरमा जहाँसुकै पनि सहज उपचार गर्न सकिन्छ। टोमोले हजारौं ससाना रेडिएसन प्रयोग गर्ने हुँदा जति मात्रा आवश्यक छ त्यति मात्र र जस्तोसुकै कोणबाट पनि रेडिएसन दिएर उपचार गर्न सम्भव बनाउँछ।
पछिल्लो प्रविधि भएकाले यसको मूल्य अन्य उपकरणभन्दा महँगो पर्ने डा. आचार्यले बताए। उनी भन्छन्, ‘उपचार प्रभावकारी हुने भएकाले मूल्यभन्दा पनि सेवामा जोड दिनुपर्छ।’ उपकरणलाई दिनमा ४–५ घन्टा मात्रै बन्द गर्दा पुग्ने भएकाले जनशक्तिलाई विभिन्न सिफ्टमा काम गर्न लगाएर धेरै भन्दै धेरैलाई सेवा दिन सकिने डा. आचार्य बताउँछन्। वीर अस्पताल जस्तो बिरामीको चाप हुने र गरिब बिरामी आउने ठाउँमा यो उपकरण रहँदा दिनमा ६० भन्दा बढीले निकै कम मूल्यमा सेवा पाउने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।