पेरिस – केलियन एमबाप्पेले डेब्युमै गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मेट्जलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको छ।
फ्रेन्च लिग वानमा शीर्ष स्थानको पिएसजीको यो लागतार चौथो जित हो। डिफेन्डिङ च्याम्पियन मोनाकोले पनि लगातार ४ खेलमै जित निकालेको छ।
एमबाप्पे गत साता फ्रेन्च च्याम्पियन मोनाकोबाट लोनमा पिएसजीमा आबद्ध भएका थिए। १८ वर्षीय एमबाप्पेले खेलको ५९औं मिनेटमा गोल गरेका थिए। उनले २० यार्ड टाढाबाट हानेको सटिक प्रहारले गोलपोस्टको दिशा लियो।
त्यसअघि खेलको ३१औं मिनेटमा एडिन्सन काभानीले गोल गरेर पिएसजीलाई अग्रता दिलाए। तर, मेट्जका रिभेरीले ३७औं मिनेटमा बराबरी गोल फर्काए।
पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको ५६औं मिनेटमा मेट्ज १० खेलाडीमा सीमित बन्यो। बोनेइट आसाउ एकेटोलाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदानबाहिर पठाए। त्यसपछि दबाबमा आएको मेट्जविरुद्ध पिएसजी हाबी भयो।
एमबाप्पेले गोल गरेको १० मिनेटपछि नेइमारले पिएसजीका लागि तेस्रो गोल गरे। ७५औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दा पिएसजीको अग्रता ४–१ पुग्यो। पिएसजीका लागि पाँचौ गोल लुकास माउराले खेल सकिन ३ मिनेट बाँकी छँदा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।