काठमाडौं– आगामी डिसेम्बरमा हुने नयाँ स्वरुपको एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा भाग लिने ६ सहरका टोलीको नाम सार्वजनिक गरिएको छ। इपिएलले शुक्रबार टोलीसहित ६ जना ‘मार्की’ (चर्चित) खेलाडीको नाम सावर्जनिक गरेको हो।
इपिएल खेल्ने टोलीमा काठमाडौं किंग्स इलावेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स छन्।
काठमाडौंमा सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा सरद भेष्वाकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरी ‘मार्की’ खेलाडीका रुपमा आबद्ध भएका छन्। ‘मार्की’ खेलाडीको न्यूनतम पारिश्रमक २ लाख रुपैयाँ भएको इपिएलले जनाएको छ। तर, कुन खेलाडी कति रकममा अनुबन्ध भएका छन् भन्ने सार्वजनिक गरिएको छैन।
इपिएलले टिम मालिकको पनि नाम सार्वजनिक गरेको छ। जसमा रोहित गुप्ता (काठमाडौं), किशोर महर्जन (ललितपुर), विशाल अग्रवाल (विराटनगर), आदित्य संघाई (भैरहवा), साहिल अग्रवाल (पोखरा) र किशोर भट्टराई (चितवन) रहेका छन्।
पत्रकार सम्मेलनमा सबै मालिक र ‘मार्की’ खेलाडीले इपिएलले नेपाली क्रिकेट विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए।
मार्कीसहित प्रत्येक टोलीमा १५ खेलाडी हुनेछन्। १० खेलाडी अक्सनबाट छनोट गरिनेछ भने तीन जना विदेशी खेलाडी हुनेछन्। एक जना स्थानीय खेलाडी हुनेछन्। स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छनोट गरिनेछ।
इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरका अनुसार विदेशी खेलाडी छनोट गर्ने जिम्मा टिम मालिकलाई दिइएको छ। आमिरले भारत, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, केन्या लगायतका देशबाट खेलाडी ल्याउन कुराकानी भइरहेको बताए।
अक्सनमा तीन श्रेणीका खेलाडी समावेश हुनेछन्। प्रत्येक टोलीमा पहिलो र दोस्रो श्रेणीका ३–३ जना खेलाडी समावेश गरिने प्रावधान राखिएको छ। यस्तै, तेस्रो श्रेणीका चार खेलाडीलाई प्रत्येक टोलीले स्थान दिनुपर्नेछ। श्रेणीअनुसारको खेलाडीको मूल्य पछि तोकिने बताइएको छ।
इपिएलमा ६० खेलाडी अक्सन मार्फत छनोट हुनेछन् भने १८ विदेशी खेलाडीलाई नेपाल ल्याइनेछ।
प्रतियोगिताको विजेता टोलीलाई २१ लाख पुरस्कार प्रदान गरिनेछ। यो नेपालमा सञ्चालन हुने क्रिकेट प्रतियोगितामध्ये सर्वाधिक राशिको पुरस्कार हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।