सिरहा– सिरहामा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले १० वटा आधार शिविर बनाएको छ ।
मतदान केन्द्रको सुरक्षाको बाहिरी घेरासहित पैदल र सवारीसाधन गस्तीको जिम्मेवारी समेत सेनाले लिएको छ। शंकास्पद वस्तु र गतिविधिको सूचना पाएको १० मिनेटमै घटनास्थल पुग्ने व्यवस्था गरिएको छ।
जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले सुरक्षा चुनौतीमा रहेका संगठन र व्यक्तिको निगरानी भइरहे पनि आम सर्वसाधारणमा त्रास फैलाउन भुमिगत संगठनको गतिविधि नरोकिएको बताए।
नेपाल लाइभसँग कुराकानी गर्दै प्रजिअ श्रेष्ठले जिल्लाको सुरक्षा चुनौतीका रुपमा हेरिएका संगठन, व्यक्ति र गतिविधिमाथि सुरक्षा फौजले निगरानी गरिरहेको छ । उनले सीमावर्ती क्षेत्रबाट हुनसक्ने सम्भावित घुसपैठ रोक्न सेनालाई सीमामा परिचालन गरिएको बताए।
उनका अनुसार, निर्वाचन सुरक्षाका लागि तीन वटै सुरक्षा निकायका गरी नौ हजार सुरक्षाकर्मी फिल्डमा खटिएका छन्।
सिरहामा नेकपा माओवादी विप्लव समूह, जयकृष्ण गोइतको तराई जनतान्त्रिक मुक्ति मोर्चाका साथै दलहरुबीचको भिडन्तलाई समेत सुरक्षा चुनौती मानिएको छ।
२२१ मध्ये १०९ मतदानस्थल अति संवेदनशील
जिल्ला सुरक्षा समितिले सिरहाका कुल मतदान स्थलको ८५ प्रतिशत भाग सुरक्षाका दृष्टिकोणले अति संवेदनशील र संवेदनशीलको श्रेणीमा राख्दै सुरक्षा प्रबन्ध मिलाएको छ ।
जिल्लामा रहेका २ सय २१ मतदान स्थलमध्ये एक सय नौ अति संवेदनशील, ८४ संवेदनशील र २८ मतदान स्थललाई सामान्यको श्रेणीमा राखिएको छ।
प्रजिअ श्रेष्ठका अनुसार, निर्वाचनमा सहभागी दल र स्वतन्त्र उम्मेदवारका चुनावी प्रचारप्रसार कार्यक्रमको पूर्वजानकारी लिने र सोही अनुसार सुरक्षा प्रदान गर्ने गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।