ठीक त्यसरी नै पसिना रसाउने
पुरानो घाउको टाँटो छ हाम्रो छातीमा
तर, छैन यहाँ
कुनै खुसीको भेल बगाएर ल्याउने
कुलो, खोला वा नदी
अझै छ आमाको सेतो सारीमा
अलि-अलि बारूदको उड्नै लागेको गन्ध
अझै छ बहिनीको पेटिकोटमा
महाराजको विर्यबाट निस्केको एक घाइते क्रोमोजोम
अझै छ बुट्टा बिग्रेको कमरेडको जुत्ताको डोब
तर, छैन यहाँ भोकको छाला टल्काउने कुनै इन्द्रेणी
अझै यहीँ छ
आफ्नै कमिजको गोजी च्यातेर
देशको मुटु सिलाउने एक अयोग्य योद्धा
अझै यहीँ छ
देशको लयसँग
मार्चपास मिलाउन खोज्दा भाँचिएको एउटा खुट्टा
अझै यहीँ छ
एकाबिहानै रगतको सम्झना दिलाउने
आकाशको निधारमा देखिने रातो सूर्य
तर छैनन् यहाँ
आकाशमा चरा जसरी उडिरहेका परिवर्तनका ताराहरू।
यहीँ छ नदी किनारको माझीले
माछा मार्दामार्दै छाडिगएको बल्छी
यहीँ छ कालो प्लास्टिकभित्र
छट्पटाइरहेको माछाको कंकाल
घुमाएर हेर्दा ग्लोब
यहीँ छन् कोर्न बाँकी कयौं नक्साहरू
तर छैन यहाँ
खुसियालीको नृत्य,
सम्भावनाको गीत,
क्रान्तिको सपना
यो सपनाको अभावमा बाँचिरहेको गाउँ हो
यहाँका हरेक मान्छेलाई थाहा छ
सपना देख्नुको पीडा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।