सहर होस् वा गाउँ; सबैतिर चुरोट पिउने संस्कार 'लोकप्रिय' बन्दै गएको छ। किशोर-किशोरी तथा युवा पुस्तालाई फेसनको एउटा शैली बन्दै गएको छ धूम्रपान। कतिपयलाई काममा एकाग्रता तथा तनाव व्यवस्थापनको आधार बनेको छ। करवृद्धिको कारण महगिँदो मूल्य तथा स्वास्थ्यप्रतिको बढ्दो जनचेतना कार्यक्रमले सुर्तीजन्य पदार्थको खपत घटाउन सकेको छैन।
यो आलेख धूम्रपानले स्वास्थ्यमा पुर्याउने असर र प्रभावमा केन्द्रित छैन।
धूम्रपानको लामो इतिहास छ। लामो इतिहास बोकेको धूम्रपान विश्वव्यापी रुपमा फैलिएको छ। हाम्रो समाजमा पनि यसप्रति कैयौंको लत बनेको छ। यही लतका परिणाम स्वरुप धूम्रपानका दृश्यहरु मात्र देखिँदैन, गहिरिएर हेर्यो भने नियम पालन सम्बन्धी हाम्रो मनोविज्ञान पनि प्रतिविम्बित हुन्छन्। प्रणाली बसेन वा सरकारले थिति बसाउन सकेन भनेर गुनासो गरिरहने हामी विद्यमान नीतिनियम तोड्न कति उद्यत छौं भनेर धूम्रपानकै दैनिक दृश्यहरुले देखाउँछन्।
कानुन पालनाको सवालमा तारन्तर नेपालगन्जको एक प्रसंग याद आउँछ।
करिब एक वर्षअघि। त्यो समय यो लेखक कुनै परियोजनाको लागि नेपालगन्जमा कार्यरत थियो। परियोजनाबाट बिदा भएर काठमाडौं फर्किने तय भएपछि एक अधिवक्ता मित्रसँग भेटघाट तयो। भेटघाटमा कफीको कपसँगै कुराकानी सुरु भयो। अक्सर मान्छेको कुराकानीको विषय व्यक्तिको पृष्ठभूमि र पेसासँग जोडिन पुग्छन्। वकिल मित्रले पनि कुराकानीको प्रसंगमा कानुनको कुरा झिकिहाले। उनको भने कि– नेपालमा जहिले पनि यो कानुन भएन, त्यो कानुन भएन भनिन्छ। तर अभाव कानुनको होइन। कुनकुन कानुनले कसरी काम गर्छ भन्ने जानकारीको हो।
उनको कुरामा सत्यता थियो। जानकारीको अभाव हाम्रो समाज वा हामी नेपालीमाझ व्याप्त यथार्थ हो। समाजका एकथरी मानिस र घटनाहरु देख्दा वकिल मित्र सही लाग्छन्।
निश्चय नै मानिससँग रहरका चाङ हुन्छन्। तर जिम्मेवारीबोध गर्दै रहरलाई विवेकले नियन्त्रण गर्न सक्नुपर्छ। जिम्मेवारीबोध बिनाको रहरले नियम उल्लंघन गर्न उकासिइरहन्छ।
यहाँ धेरैलाई कानुनले वर्जित गरेको व्यवहार वा क्रियाकलाप केके हुन् भनेर थाहा छैन। ती कुरा थाहा नभएर नै मानिसहरु गल्ती गर्न उत्साहित भएका पनि हुन्छन्। तर यो कुरा नै पूर्ण सत्य वा यथार्थ भने होइन। यसको अर्को पाटो भनेको कतिले थाहा पाएर पनि आफ्नो रहर र आवेगको निम्ति नियम पालनलाई बेवास्ता गर्दै आएका छन्। जाने बुझेकाले नियम मिचेपछि साक्षर वा नीति नियममा खासै चासो नराख्नेलाई सम्बन्धित विषयमा कुनै ऐनकानुन नै नभएको भान पर्न गएको पनि देखिन्छ। थाहा नभएपछि मानिसहरु बेफिक्री नियम मिच्छन्। यसको एक उदाहरण हो, सार्वजनिक स्थानमा देखिने धूम्रपानको दृश्य र सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को तादाम्यता।
नीतिनियम तथा ऐनकानुन कसैको दबाबमा मात्र पालन गर्ने विषय होइन। व्यक्ति स्वयंको विवेक र नैतिकताले पनि आत्मसाथ गर्ने हो। हामी नीतिनियमको पालन अरुको लागि गरिदिनुपर्ने जस्तो गर्छौं। कुनै पनि ऐननियमलाई भन्दा आफ्नो रहरलाई बढी प्राथमिकतामा राख्छौं। सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनले निर्देश गरेका नियम पालन नहुनु हाम्रो यस्तै मनोविज्ञानको परिणाम हो। यो नियमले सार्वजनिक स्थानमा धूम्रपान गर्न बन्देज लगाएको छ। तर यो ऐनले किटान गरेको सार्वजनिक स्थानमा निस्फिक्री धूम्रपानका दृश्यहरु देखिन्छन्। यसरी धूम्रपान गर्नेहरु सबै शिक्षित नहोलान्। त्यो अलग कुरा हो। तर उनीहरु मध्ये कतिलाई थाहा होला सार्वजनिक स्थानमा धूम्रपान गर्नु हुँदैन भनेर! वा जानेर पनि बेवास्ता गर्ने कति होलान्? यो बहस वा विश्लेषणको अर्को पक्ष होला। यो हाम्रो समग्र मनोविज्ञानको प्रतिनिधि घटना भने भन्न सकिन्छ, हामी कानुन तथा नीतिनियमको आवश्यकता त औल्याउँछौं तर पालनाचाहिँ आफ्नो अनुकूलता हेरेर मात्र गर्छौं। बस्, रहरलाई मात्र प्राथमिकता दिन्छौं।
कलेज पढ्ने किशोर–किशोरीहरु चमेनागृह, कलेज परिसर तथा रेस्टुरेन्टमा बसेर धूम्रपान गरिरहेका हुन्छन्। तिनै किशोर–किशोरीहरु देशमा ‘सिस्टम’ले काम नगरेको गुनासो गर्छन्।
निश्चय नै मानिससँग रहरका चाङ हुन्छन्। तर जिम्मेवारीबोध गर्दै रहरलाई विवेकले नियन्त्रण गर्न सक्नुपर्छ। जिम्मेवारीबोध बिनाको रहरले नियम उल्लंघन गर्न उकासिइरहन्छ। निरन्तरको उक्साहट र उल्लंघनले कुनै पनि ऐन तथा नीति कागजको खोस्टोमा परिणत हुन पुग्छ। आज सुर्तीजन्य पदार्थ ऐन खोस्टोमै परिणात भए जस्तो देखिन्छ।
२०६८ सालको सुरुवाती महिनामा आएको सुर्तीजन्य पदार्थ ऐनले सुरुमा राम्रै तरंग ल्याएको थियो। यो नियम पालन गर्न प्रहरीहरु सजक देखिन्थे। सार्वजनिक स्थानमा धूम्रपान गरेका कारण केही मानिस प्रहरी चौकीसम्म पुगे। ऐनले तोके बमोजिम सय रुपैयाँ जरिवाना पनि तिरे। तर जब सर्वसाधारण आफैले ऐन पालन गर्ने तदारुकता देखाउँदैनन्, तबसम्म कुनै पनि नीतिनियम तथा ऐन प्रभावकारी हुँदैन। भयो त्यस्तो नै। प्रहरीले सुर्तीजन्य पदार्थ ऐन कार्यन्वयन गराउन गरेको कोसिस बिस्तारै शिथिल हुँदै गयो। सार्वजनिक स्थानमा प्रहरीकै अगाडि धूम्रपान गरेको दृश्य देख्न सकिन्छ। यसको प्रभावकारिता शून्यप्राय नै छ।
अग्रजले सार्वजनिक स्थानमा धूम्रपान नगरेको भए नयाँ पुस्ताले यसलाई संस्कारको रुपमा विकास गर्न सक्थे। यसले धूम्रपानसंग जोडिएका खास क्रियाकलापलाई मात्र व्यवस्थित गर्दैन थियो। सरकारद्वारा ल्याइएका कानुन, ऐन तथा नियम पालन गर्नुपर्छ भन्ने सोच र व्यवहारको पनि विकास हुँदै जान्थ्यो।
कलेज पढ्ने किशोर–किशोरीहरु चमेनागृह, कलेज परिसर तथा रेस्टुरेन्टमा बसेर धूम्रपान गरिरहेका हुन्छन्। तिनै किशोर–किशोरीहरु देशमा ‘सिस्टम’ले काम नगरेको गुनासो गर्छन्। उनीहरुको गुनासो जायज पनि छ। तर उनीहरुले पनि कहीँ न कहीँ ‘सिस्टम ब्रेक’ गरिरहेको छु भन्ने महसुस गरेका छैनन्। उनीहरु सुर्तीजन्य पदार्थ ऐन प्रमाणीकरण हुँदै गर्दा ११ वर्षभन्दा बढीका थिएनन्। त्यो बेलाका वयस्क, युवा तथा किशोर–किशोरी स्वयंले विद्यमान नियमलाई पालन गर्दै सार्वजनिक स्थानमा धूम्रपान नगरेको भए आजको परिदृश्य फरक हुन सक्थ्यो। ऐन आएपछिको आठ वर्षमा धेरै केटोकेटी किशोर–किशोरीको उमेर समूहमा प्रवेश गरेका छन्। अग्रजले सार्वजनिक स्थानमा धूम्रपान नगरेको भए उनीहरुले यसलाई संस्कारको रुपमा विकास गर्न सक्थे। यसले धूम्रपानसंग जोडिएका खास क्रियाकलापलाई मात्र व्यवस्थित गर्दैन थियो। सरकारद्वारा ल्याइएका कानुन, ऐन तथा नियम पालन गर्नुपर्छ भन्ने सोच र व्यवहारको पनि विकास हुँदै जान्थ्यो। तसर्थ सार्वजनिक स्थानमा धूम्रपान कुनै खास घटना मात्र होइन। हामी नीतिनियम कतिको पालन गर्छौं भन्ने ज्वलन्त उदाहरण पनि हो।
हामी सबै थिति तथा प्रणाली बसेन भनेर गुनासो गरिरहन्छौं। यी कुरा आकाशबाट बर्सिने होइन। अन्त कतैबाट आएर फिट हुने पनि होइन। सिस्टम बसेन भनेर गुनासो गर्नेले सबभन्दा पहिले आफू सिस्टममा चल्नुपर्छ। यसको लागि ऐननियमले तोकेका सानासाना कुरा पालन गर्नुपर्छ। गुनासोले मात्र प्रणाली सुध्रिँदैन। प्रणाली सुधार्न विद्यमान नियमलाई आत्मसात गर्नुपर्छ। अन्यथा नियम कानुन थन्किन्छन्, बेथिति विद्यमान रहिरहन्छ।
आन्तरिक कलहको उपचारमा असफल कांग्रेस
जहाजको सपनामा बस नछुटोस्
राजनीतिक संस्कारमा प्रचण्डको सैद्धान्तिक विचलन
रवीन्द्र अधिकारी : निभ्यो भरभराउँदो दियो
विप्लवमाथि प्रतिबन्ध : खुमबहादुरको बाटोमा रामबहादुर
गुरिल्ला युद्धको भय
संरचनागत हिंसाको दुष्चक्रमा महिलाको जीवन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।