



काठमाडौं– सानै उमेरमा विवाह गर्ने र कलिलो उमेरमा आमा बन्नेको संख्या अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर २ मा अत्याधिक रहेको एक सर्वेक्षणले देखाएको छ।
कर्णाली तथा सुदूरपश्चिमका दूर्गम क्षेत्रभन्दा पनि प्रदेश नम्बर २ मा किशोरी आमाको संख्या झण्डै दोब्बर छ। नेपालभरमा १६ दशमलव ७ प्रतिशत महिलाहरु किशोरावस्थामा आमा बन्ने गरेका छन्।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्न लागेको सर्वेक्षणमा प्रदेश नम्बर २ मा मात्र १५ देखि १९ वर्षबीचका किशोरी आमाको संख्या २७ दशमलव ३ प्रतिशत छ । अमेरिकी अनुसन्धान संस्था आइसिएफको प्राविधिक अनुगमनमा न्यु एराले स्वास्थ्य मन्त्रालयका लागि गरेको ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०१६’ मा यस्तो रिपोर्ट आएको हो।
यो सर्वेक्षण प्रत्येक ५ वर्षको अन्तरालमा हुने गर्छ । यसपालि सर्वेक्षणको रिपोर्ट आउँदो नोभेम्बर र डिसेम्बरको बीचमा सार्वजनिक हुँदै छ।
सरकारले बालविवाहलाई निरुत्साही पार्न धेरै अगाडिदेखि ‘विवाहवारी, २० वर्ष पारि’ भन्ने नारा दिँदै आइरहेको छ। तर, यो रिपोर्टले लामो समयदेखि सरकारले चलाएको अभियान यस प्रदेशमा प्रभावकारी नभएको उजागर भएको छ।
वरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा विनोद अर्यालका अनुसार किशोरावस्थामा आमा बन्नु आमा र बच्चा दुवैका लागि खतरा हो । ‘नेपालमा मातृ र शिशु मृत्युदर बढ्नुको प्रमुख कारण नै सानै उमेरमा आमा बन्नु हो,’ डा अर्यालले नेपाल लाइभसँग भने।
सात प्रदेशमध्ये सबैभन्दा कम किशोरी आमा प्रदेश नम्बर ३ मा पाइएको सर्वेक्षणले देखाएको छ। प्रदेश ३ मा १० दशमलव १ प्रतिशत महिला मात्र १५ देखि १९ वर्षको उमेरका आमा छन्। सर्वेक्षणअनुसार प्रदेश नम्बर २ पछि सबैभन्दा धेरै किशोरी आमा हुने प्रदेश ६ नम्बर हो।
प्रदेश नम्बर ६ मा १८ दशमलव ८ प्रतिशत महिला किशोरावस्थामा आमा बनेका छन् । प्रदेश नम्बर ७ मा १६ दशमलव १, प्रदेश नम्बर १ मा १५ दमलव ५, प्रदेश नम्बर ४ मा १३ दशमलव ९ र प्रदेश नम्बर ५ मा १३ दशमलव ४ प्रतिशत महिला किशोरावस्थामा आमा बनेको सर्वेक्षणले देखाएको छ।
कुन उमेरमा कति आमा ?
सर्वेक्षण अनुसार १५ वर्षको उमेरमा आमा बन्नेको दर १ दशमलव ५ प्रतिशत छ। यस्तै १६ वर्षमा ४ दशमलव ४, १७ वर्षमा १३ दशमलव ८, १८ वर्षमा २८ दशमलव १ र १९ वर्षमा ३५ दशमलव ५ प्रतिशत महिला आमा बनेका छन्।
अमेरिकी अनुसन्धान संस्था आइसिएफको प्राविधिक अनुगमनमा न्यु एराले स्वास्थ्य मन्त्रालयका लागि सन् १९९६ देखि सर्वेक्षण गर्दै आइरहेको छ। यसपटक देशभरका ११ हजार ४ सय ९० परिवारको नमुना संकलन गरेर सर्वेक्षण गरिएको थियो। सर्वेक्षणमा संलग्न न्यु एराका निर्देशक योगेन्द्र प्रसाईँले जानकारी दिँदै भने, ‘नमुना छनोट गर्दा देशको कूल जनसंख्याको औसत अनुपात निकालेर सम्पूर्ण क्षेत्रलाई ३ सय ८३ क्लस्टरमा बाँडेका थियौं।’
स्वास्थ्यमा कस्तो खतरा ?
डा. अर्यालका अनुसार किशोरावस्थामा रहेका महिला बच्चा जन्माउनका लागि परिपक्व भैसकेका हुँदैनन्। यस्तो अवस्थामा गर्भवती हुँदा गर्भ तुहिने, रक्तस्राव धेरै हुने, बच्चा जन्माउन नसक्ने, बच्चा कम तौलको हुने, आमा र शिशु दुबैलाई कुपोषण हुने, लामो समयसम्म व्यथा लाग्ने, आमा र बच्चा दुवैको ज्यान तलमाथि हुनसक्ने लगायतका खतरा रहन्छ। किशोरी आमामा दीर्घकालमा पाठेघर खस्ने, पाठेघरको क्यान्सर हुने, विभिन्न यौन रोग लाग्ने तथा फिस्टुलाको समस्यासमेत देखिने खतरा रहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।