काठमाडौं- उदयपुर क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार नारायण कार्कीलाई लक्षित गरी भएको एम्बुस विस्फोटमा घाइते भएका पत्रकार नवराज पौडेलको अवस्था सुधारोन्मुख रहेको छ।
कार्कीको गाडीलाई लक्षित गरी बम विस्फोट हुँदा समाचार संकलनका क्रममा रहेका पत्रकार पौडेलसमेत घाइते भएका हुन्। उनको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। कार्की नेपाल पत्रकार महासंघ उदयुपर शाखाका सदस्य एवं युके एफएममा आबद्ध छन्। नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गरी घटनाप्रति दु:ख व्यक्त गरेको छ।
पछिल्लो समय निर्वाचनका क्रममा मुलुकका विभिन्न स्थानमा उम्मेदवारलक्षित आक्रमणको घटनाले नागरिकलाई त्रसित र आतंकित बनाएको महासंघले जनाएको छ। महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा यस्ता आतंकपूर्ण घटना नदोहोरिनेतर्फ आवश्यक कदम चाल्न र सुरक्षाको वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै पत्रकार पौडेलसहित आक्रमणमा घाइते अन्य व्यक्तिको उपचारको व्यवस्था गर्न सरकारसँग मागसमेत गरिएको छ।
उदयपुरगढी नगरपालिका–६ मा बुधबार सो विस्फोट हुँदा उदयपुर-२ का प्रतिनिसभा उम्मेदवार कार्कीसहित ७ जना घाइते भएका छन्। उनीहरुको त्रिवि शिक्षण अस्पतालमै उपचार भइरहेको छ। गम्भीर घाइते अवस्थाका कार्की, जिप चालक राजन कार्की र मिरा कटुवाल खतरामुक्त रहेको अस्पतालले जनाएको छ। घटनामा उदयपुरगढी गाउँपालिका ८ की धनमाया धौलाकोटी, गणेश पुरी र प्रहरी जवान कालिदास श्रेष्ठ पनि घाइते भएका हुन्।
कार्की सवार जिपलाई लक्षित गरी एम्बुस विस्फोट गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।