दैलेख- दैलेखमा लामो समयदेखि थाती रहेका ठूला विकासका योजना अहिले पनि पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन्।
चुनावमा भोट माग्न आएका नेताले स्थानीय बासिन्दाले पुराना र बाँकी रहेका कामका बारेमा चासो दिनुपर्ने सुझाव दिन थालेका छन्। तीन वर्षअघि सरकारका उद्योगमन्त्री आएर दैलेखको शिरिस्थानबाट पेट्रोलियम पदार्थको उत्खनन गर्ने भनेर गरेको उद्घोष अहिलेसम्म कार्यान्वयनको चरणमा पुगेको छैन। दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्ति शर्मा अब निर्वाचित प्रतिनिधिले दैलेखको खोलामा बगेर गएको ग्यासको सदुपयोग गर्ने वाचा गर्नुपर्ने र पञ्चकोशी धार्मिक क्षेत्र घोषणाको पहल गर्नुपर्ने बताउँछिन्।
जिल्ला सदरमुकाम दैलेखका मतदाताले ६ वर्षदेखि सञ्चालनमा आएको मध्यपहाडी राजमार्गको दैलेख सदरमुकाम खण्डको विवाद अझै टुंगिन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन्। दैलेखको भाग्य र भविष्यसँग जोडिएको मध्यपहाडी राजमार्गको अहिलेसम्म निकास नहुनु लाजमर्दो कुरा भयो स्थानीय रामबहादुर दमाईले गुनासो गरे। अन्य जिल्लामा मध्यपहाडी राजमार्ग खण्ड कालोपत्रे भइसकेको छ तर दैलेख खण्डमा अझै कालोपत्रे हुन सकेको छैन। जिल्लाको व्यापार व्यवसाय बढाउन यो सडक निकै आवश्यक भएको दैलेख उद्योग वाणिज्य संघका महासचिव नरेन्द्र थापाले बताए।
निर्वतमान सांसद अमरबहादुर थापा भने आयोजनाले नै ढिलाइ गरेका कारण समस्या भएको बताउँछन्। स्थानीयले १० मिटर बाटो दिन तयार रहेको भए पनि आयोजनाले यसबारे ठोस काम गर्न नसकेको थापाले गुनासो गरे। थापा अहिले पनि दैलेख सदरमुकामकै क्षेत्रबाट प्रदेशसभाका उम्मेदवार छन्।
दैलेख सुर्खेत सडकखण्ड दुई लेनको निर्माण गर्ने भनेर राजनीतिक दलहरुका प्रतिबद्धतामा २०६४ सालदेखि निरन्तर लेखिँदै आएको भए पनि सडकमा भएका खाल्डा समेत पुर्ने काम भएको छैन।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।