राजविराज- राजविराजमा बम विस्फोट गराउन खोज्ने दुई जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।
दुई दिनअघि पक्राउ परेका सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बस्ने ४० वर्षीय तेजनारायण यादव र विष्णुपुर गाउँपालिका– ६ का सञ्जयकुमार रायलाई सार्वजनिक गरिएको हो।
जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले राजविराजमा प्रेसरकुकर बम विस्फोट गराउने योजना बनाइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बताए। उनीहरु विप्लव समूहका कार्यकर्ता भएको बताइएको छ।
पक्राउ परेका तेजनारायणबाट बम विस्फोट गराउने रिमोट कन्ट्रोल फेला पारेको र त्यसपछिको सोधपुछका आधारमा प्रहरीले बम फेला पारेको थियो।
राजविराज–कुनौली सडक खण्डअन्तर्गत रञ्जीतपुरस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै धान खेतमा लुकाइछिपाई राखिएको शक्तिशाली प्रेसरकुकर बम उनकै बयानको आधारमा फेला पारिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। सोही घटनामा उनका सहयोगी सञ्जयकुमार रायलाई समेत पक्राउ गरिएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।