गाईघाट- प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी उम्मेदवारलाई लक्षित गरेर बम आक्रमण हुन थालेपछि उदयपुरमा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ।
उम्मेदवार तथा मतदातालाई लक्षित गरेर विस्फोटका घटना बढेपछि जिल्लामा सुरक्षाकर्मीको संख्यामा वृद्धि गरिएको र सुरक्षा चेकजाँचलाई बढाइएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताए।
उम्मेदवारहरुले मागेअनुसार सुरक्षा उपलब्ध गराइएको र चौबीसै घन्टा उम्मेदवारको अघिपछि सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए।
उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले उम्मेदवारमाथि आक्रमणका घटना दोहोरिन नदिन जिल्लाका मुख्य नाका र शंकास्पद स्थानमा चौबीसै घन्टा प्रहरी परिचालन गरिएको र प्रभावकारी रुपमा सुरक्षा प्रबन्ध गरिएको बताए।
बुधबार बिहान जिल्लाको उदयपुरगढी गाउँपालिका ६ दनुवारबेंसी भन्ने ठाउँमा कांग्रेस क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की चढेको जिपलाई लक्षित गरी एम्बुस विस्फोट गराइँदा नौ जना घाइते भएका थिए। घटनामा उम्मेदवार कार्कीसहित तीन जना गम्भीर घाइते भएका थिए।
त्यस्तै, मंगलबार बिहान कांग्रेस उदयपुरका पूर्वसभापति तथा उदयपुर क्षेत्र नम्बर १ (ख) का उम्मेदवार हिमाल कार्कीको त्रियुगा नगरपालिका–७ भण्टाबारीस्थित घरमा नै बम आक्रमण भएको थियो। मंगलबार नै कांग्रेसका केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा नारायण खड्कालाई लक्षित गरी त्रियुगा नगरपालिका– १० बाबरीमा बम आक्रमण भएको थियो।
एक साताअघि पनि उदयपुरगढी गाउँपालिकाको नरेटारमा वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरेर बम प्रहार भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।