सिओल- राष्ट्र संघ, अमेरिका र अन्य देशहरुको विरोधका बीच उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ।
उत्तर कोरियाले बुधबार बिहान सो क्षेप्यास्त्र प्रहार गरेको समाचार दक्षिण कोरियाली समाचार समिति योनहापले जनाएको हो। उत्तर कोरियाको दक्षिणी प्रान्त प्योङ्यानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र हानिएको सो समाचारमा उल्लेख छ।
उत्तर कोरियाले अहिलेसम्म गरेका यसअघिका सबै परीक्षणमध्ये पछिल्लो क्षेप्यास्त्र सबैभन्दा शक्तिशाली रहेको विश्लेषकहरुले बताएका छन्। यो क्षेप्यास्त्रले अमेरिकी महादेशसम्म नै मार हान्नसक्ने उत्तर कोरियाको दाबी छ।
परीक्षण गरिएको क्षेप्यास्त्र ५ हजार ४ सय ७५ मिटरको उचाइसम्म पुगेको थियो भने करिब ५३ मिनेटमा ९५० किलोमिटर टाढासम्म गएको थियो।
यो क्षेप्यास्त्र यसअघि जस्तो जापानी भूभागको माथिबाट नगए पनि जापानी समुद्रमा खसेको अनुमान गरिएको पनि सो समाचारमा जनाइएको छ।
यसैबीच, बुधबार गरेको आणविक परीक्षणको निरीक्षणपछि उत्तर कोरियाली नेता किम जोङ उनले आफूहरु देश आणविक शक्तिराष्ट्र भएको घोषणा गरेका छन्।
उनले भने, 'आजको परीक्षण निकै शक्तिशाली छ, यसले अमेरिकाको सबै भूभागसम्म हान्न सक्छ, त्यसैले म आज गर्वका साथ यो भन्न सक्छु कि हामी अब भने आणविक शक्तिराष्ट्र भएका छौं।'
यसले आफ्नो देशलाई अमेरिकाको जस्तोसुकै आक्रमणका विरुद्धमा पनि बचाउन सक्ने अवस्था रहेको पनि उनले बताएका छन्।
उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणको संयुक्त राष्ट्र संघका साथै अमेरिका, दक्षिण कोरिया र जापानले निन्दा गरेका छन्।
राष्ट्र संघका महासचिव एन्टोनियो गुथ्रेसले विश्व समुदायको बारम्बारको आग्रहलाई बेवास्ता गर्दै उत्तर कोरियाले गरेको यो आणविक परीक्षण विश्वशान्तिका लागि एक चिन्ताजनक घटना भएको बताए।
जापान र दक्षिण कोरियाले आफ्नो देशमा रक्षासम्बन्धी र मन्त्रिपरिषदका आकस्मिक बैठकहरु आह्वान गरेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।