काठमाडौं- दाङको तुल्सीपुरमा भएको बम विस्फोटमा परी म्यादी प्रहरी विनोद चौधरीको निधन भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री देउवाले बुधबार विज्ञप्ति जारी गर्दै दिवंगत चौधरीप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना प्रकट गरेका छन्। देउवाले विस्फोटमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।
तुल्सीपुर उपमहानगरपालिका–५ स्थित अरनिको मैदानमा प्रधानमन्त्री देउवा सहभागी भएको कांग्रेसको चुनावी सभालाई लक्ष्य गरी गराइएको बम विस्फोटमा परी घाइते भएका २३ वर्षीय चौधरीको उपचारका क्रममा बुधबार बाँकेको कोहलपुरमा निधन भएको हो।
प्रधानमन्त्रीले बिना हतियार सुरक्षार्थ उभिएका म्यादी प्रहरी र नागरिकमाथि कायरतापूर्ण तवरले बम प्रहार गरिएको यस घटनालगायत निर्वाचन लक्षित सम्पूर्ण हिंसात्मक क्रियाकलापको घोर निन्दा गरेका छन्।
'यस्ता घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ', विज्ञप्तिमा भनिएको छ, 'यस प्रकारका निर्वाचन विरोधी कुनै पनि गतिविधिले निर्वाचनप्रति नेपाली नागरिकले देखाएको उत्साह र नागरिकको मताधिकारलाई कुण्ठित पार्न सक्दैन।'
सरकारले निर्वाचनलाई भयरहित वातावरणमा सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आम नागरिकलाई निर्वाचनमा निर्धक्क भएर लाग्न आह्वान गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।