कालेबुङ- दार्जीलिङ पहाडमा दुईवटा घटनाले खैलाबैला मच्चाएको छ। बुधबार राति मिरिकमा विस्फोट भयो अनि बिहान पोस्टर टाँसेर गोर्खा लिबरेसन आर्मी (जिएलए)ले घटनाको जिम्मा लियो।
गोर्खा लिबरेसन आर्मीबारे कसैलाई कुनै जानकारी छैन। यसलाई कसले नेतृत्व गर्दैछ भन्ने कुरा पनि खुलेको छैन। पुलिसले भूमिगत संगठन हुन सक्ने अनुमान गरेको छ।
बुधबार राति करिब ९ बजे मिरिक हाइस्कुल र पिडब्ल्युडी भवनको बीच रोडमा ठूलो बिस्फोटको आवाज सुनिएको थियो। पुलिसले त्यसलाई ‘बम विस्फोट’ भन्यो।
विस्फोटले केही हानी-नोक्सानी गरेको छैन। पुलिसले जाँच चलिरहेको बताएको छ। यसअघि पनि मिरिकमा दुईपटक विस्फोटक पदार्थ भेटिएको थियो। तर, विस्फोट भएको भने यो पहिलो घटना हो।
बिहीबार बिहानै मिरिकमा एउटा पोस्टर देखियो। पोस्टरमा जाति र माटोका निम्ति जिएलए कुनै पनि हदसम्म जान सक्ने चेतावनी छ।
‘चाहे मार्नु परोस् वा मर्नु परोस्, बंगाल सरकार याद राख्,’ पोस्टरमा छ, ‘कुनै पनि गद्दार नेतालाई छोड्ने छैनौं, चाहे त्यो तृणमूलको होस्, गोरामुमो, गोजमुमो वा जापको होस्।’

जिएलएले ती दलहरूको नाम लिएको छ, जो २९ अगस्टमा मुख्यमन्त्री बेनर्जीसँग द्वीपक्षीय वार्ताका लागि कोलकात्ता गएका थिए। त्यही वार्ताबाट फर्किएपछि मोर्चामा फुट आएको थियो भने तृणमूल नेताहरूसहित गोजमुमोका विनय तामाङहरू बन्द खुलाउने कोसिसमा जुटेका थिए।
जनताले भोक-तिर्खा नभनी आन्दोलन गरिरहेको भन्दै यस्तोमा कसैले गद्दार गरे उसको घरमा बम हान्नेसम्मको चेतावनी पोस्टरमा छ।
अहिलेसम्म भएका जम्मै विस्फोटका घटनाको जिम्मा पनि जिएलएले लिएको छ। जनतालाई नडराउन उसले सन्देश दिएको छ। जिएलएले आफ्नो समूह कुनै पनि पार्टीसँग सम्बन्धित नरहेको पनि स्पष्ट पारेको छ।
पोस्टरमा आफूहरू गोर्खाल्यान्डको मागका लागि लड्ने र जिएलए कुनै राष्ट्रविरोधी संगठन नरहेको खुलाइएको छ।
गोजमुमो प्रमुख विमल गुरूङले भने विस्फोट आफ्नो आन्दोलनको सिद्धान्त नभएको बताएका छन्। उनले भने, 'विस्फोट गर्नेहरूलाई पक्राउ गरेर पुलिसले कठोर कारबाही गरोस्।'
‘मलाई जति नै कष्ट, संकट झेल्न परोस्, मेरो आन्दोलन पूर्णरूपले गणतान्त्रिक हुनेछ,' गुरुङले भने, 'तर, बंगाल सरकारले मलाई फसाउने षड्यन्त्र गरिरहेको छ। जिएलए पनि बंगाल सरकारकै उपज हो जस्तो लाग्दैछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।