सप्तरी– सप्तरीका कुल मतदान स्थलको ७० प्रतिशतभन्दा बढी क्षेत्र अति संवेदनशील रहेको सुरक्षा निकायले जनाएको छ।
प्रदेश २ मा रहेका आठ जिल्लामध्ये संवेदनशील मानिएको सप्तरीमा २ सय ९५ मतदान स्थल तोकिएको छ। त्यसमध्ये २ सय ७ स्थल सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जनाएका छन्। उनका अनुसार बाँकी ८८ मतदान स्थल समेतलाई संवेदनशीलको श्रेणीमा राखेर सुरक्षा प्रबन्ध मिलाइएको छ। २ सय ९५ मतदान स्थलमा ४ सय ६५ मतदान केन्द्र छन्।
पछिल्लो मलेठ घटनापछि चर्चामा रहेको सप्तरीमा भारतीय सीमावर्ती क्षेत्रबाट हुन सक्ने घुसपैठ, जिल्लालाई आधार क्षेत्र बनाएर सक्रिय रहेका भूमिगत सशस्त्र समूह र निर्वाचनको प्रतिस्पर्धामा रहेका दलहरुबीच हुन सक्ने सम्भावित भिडन्तलाई सुरक्षा निकायले मुख्य चुनौती ठहर गरेको छ।
प्रजिअ पाण्डेका अनुसार केही समयअघि मात्र अस्तित्वमा देखिएको प्रगतिशील तराई मुक्ति मोर्चा (सिजन) नामक भूमिगत समूह, निर्वाचनमा मत चिन्ह बाहिर मतदान अभियानको नेतृत्व गरिरहेका सिके राउत र प्रतिस्पर्धामा रहेका दलहरुबीच हुनसक्ने भिडन्त रोक्न सुरक्षा फौज चौबीसै घन्टा तैनाथ रहनेछ। यसका लागि थप बल आवश्यक रहेमा नजिकका जिल्लामा समेत सुरक्षाकर्मी तयारी अवस्थामा रहनेछन्।
‘सीमावर्ती क्षेत्रबाट हुन सक्ने सम्भावित खतराको आँकलन अनुसार भारतीय पक्षसँग छलफल भइसकेको छ, सीमाका सबै नाका र खुला सीमामा समेत हाम्रो विशेष निगरानी भइरहेको छ,’ प्रजिअ पाण्डेले भने।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बिहीबार बसेको पाँचै सुरक्षा निकायको संयुक्त बैठकले जिल्लाको सुरक्षा विश्लेषण र स्थानीय सुरक्षा रणनीतिलाई अन्तिम रुप दिएको हो।
सप्तरीको सुरक्षामा ७ हजार सुरक्षाकर्मी
सप्तरीमा निर्वाचन सुरक्षाका लागि ७ हजार सुरक्षाकर्मी परिचालन हुनेछन्। नेपाल प्रहरीबाट ४ हजार, सशस्त्रका २ हजार र नेपाली सेनाबाट १ हजार सुरक्षाकर्मी खटिनेछन्। मतदान स्थल, मतदान केन्द्र र संवेदनशील स्थानको बाहिरी घेरामा रहेर अत्याधुनिक हतियारसहित नेपाली सेनाले सुरक्षा दिनेछ। यस्तै गस्ती र मतपेटिकाको ओसारपसारमा समेत सेनाले सहयोग गर्नेछ।

मतदान केन्द्रको भित्री सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीलाई जिम्मेबारी तोकिएको छ। राष्ट्रिय अनुसन्धान र सादा पोशाकका प्रहरीलाई सूचना संकलनमा खटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।