काठमाडौं- सांसदहरुले पूर्व सांसदहरुलाई पूर्व विशिष्ट पदाधिकारी सरह सेवा-सुविधा दिन माग गरेका छन्।
माघ ७ गतेदेखि संसदको अवधि सकिने भएपछि सांसदहरुले पूर्व विशिष्ट पदाधिकारीमा आफूहरुलाई समेटेर सुविधा दिने व्यवस्था गर्न माग गरेका हुन्। बिहीबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसद राजीवविक्रम शाह र कल्पना चौधरीले यस्तो माग गरेका हुन्।
गत वर्षको मंसिरमा उनीहरुको तलब सुविधा वृद्धि भए पनि सांसदहरुले कार्यकाल सकिएपछि पनि सेवा-सुविधा पाउनुपर्ने माग गरेका छन् । व्यवस्थापिका संसदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक मंसिर ५ गते पारित गरेसँगै सांसदहरुको तलब-भत्तामा वृद्धि भएको थियो।
पूर्व विशिष्ट पदाधिकारी सम्बन्धी विधेयक २०७२ ले पूर्व विशिष्ट पदाधिकारीका रुपमा सात पदलाई मात्रै व्याख्या गरेको छ। जसले अवकाश प्राप्त भएपछि राज्यबाट सेवा-सुविधा पाउनेछन् । विधेयकले पूर्व राष्ट्रपति, उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष, पूर्व प्रधानन्यायाधीश, संविधानसभा अध्यक्ष, व्यवस्थापिका संसदको सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई पूर्व विशिष्ट पदाधिकारीका रुपमा व्याख्या गरेको छ।
सांसदहरुले भने आफूहरुलाई पनि पूर्व विशिष्ट पदाधिकारीमा समेटेर राज्यले सुविधा उपलब्ध गराउनुपर्ने माग गरेका छन्।
पूर्व विशिष्ट पदाधिकारीले मासिक वृत्तिका साथै गाडी सुविधा, र घर भए मर्मत खर्च र नभए घरभाडा पाउने प्रस्ताव विधेयकमा गरिएको छ ।
विधेयकमा व्यवस्था भएअनुसार राष्ट्रपतिले मासिक ५० हजार र उपराष्ट्रपतिले ४० हजार वृत्ति पाउनेछन् । यस्तै मासिक २५ हजार रुपैयाँ गाडी मर्मतका लागि पाउनेछन् । पूर्व राष्ट्रपतिको घर नभएमा मासिक २ लाख रुपैयाँ र अन्य पदाधिकारीले ७५ हजार रुपैयाँ पाउने व्यवस्था गरिएको थियो । यस्तो सुविधा आफूहरुले समेत पाउनुपर्ने सांसदहरुको माग हो।
वर्तमान संसदको म्याद २०७४ माघ ७ गतेबाट समाप्त हुनेछ । संसदमा हाल ५ सय ९२ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।