जनकपुर– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन आगामी कार्तिकमा हुने भएको छ। बैसाख ८ देखि जारी पार्टीको पदाधिकारी बैठकले आज नयाँ मिति तय गरेको हो। बैठकले २८ कार्तिकदेखि ३० कार्तिकसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। यसअघि बैसाखमा तोकिएको महाधिवेशन तयारी नपुगेको भन्दै स्थगित भएको थियो।
महाधिवेशन सम्पत्र गर्न केन्द्रीय कार्यसमितिका सबै सदस्य रहने गरी अध्यक्षमण्डल सदस्य महन्थ ठाकुरको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ।
साथै पार्टीले देशव्यापी आन्दोलन गर्नेसमेत निर्णय गरेको छ। संविधान संशोधन, प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पत्र बनाउन, आन्दोलनकारीमाथि लगाइएका मुद्दा खारेज गराउन, रेशम चौधरीलगायत हिरासतमा रहेका कार्यकर्ताको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिकसहितक माग अघि सार्दै पार्टीले आन्दोलन गर्ने भएको हो।
यसैगरी सर्वोच्च अदालतले ३४ हजार नागरिकताबाहकका सन्तानलाई तत्काल वंशजको नागरिकता वितरण नगर्न सरकारको नाममा गरेको अन्तरिम आदेशप्रति राजपाले आपत्ति जनाएको छ।
सर्वोच्चले २०५४ सालमा जितेन्द्रनारायण देवको नेतृत्वमा गठन भएको आयोगको सिफारिसमा वितरण भएका ३४ हजार ९० जनाको सन्तानलाई नागरिकता वितरण नगर्न दिएको आदेशप्रति राजपाले आपत्ति जनाएको हो।
सर्वोच्चको यसआदेशले राष्ट्रियतलाई कमजोर बनाउने र लाखौं नेपालीलाई अनागरिक बनाउने कार्य गर्ने राजपाको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।