२०७२ सालको भूकम्पका कारण धेरैले ज्यान गुमाए। कैयौं घाइते भए। निजी र सार्वजनिक, पुरातत्विक महत्त्वका कैयौं सम्पदा र संरचना ध्वस्त भए। विशेषगरी भूकम्पले गोरखा, सिन्धुपाल्चोक, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोटलगायत १४ जिल्लामा अत्यधिक विनाश गरेको थियो।
क्षणभरमै जेजे भयो, त्यसको आघात अझै ताजै छ। मानिसहरुले अझै पनि भरपर्दो बासस्थानको व्यवस्था गर्न सकेका छैनन्। बालबच्चाले पढ्ने कैयौं विद्यालय पुनर्निर्माण भइसकेका छैनन्। स्वास्थ्य चौकी तथा सुरक्षा निकायका भवन पुनर्निर्माणमा पनि खुसी हुनुपर्ने अवस्था छैन।
मानिसका बिजोगमाथि सुरुदेखि नै हेलचेक्र्याइँ गर्ने काम भयो। सुरुका केही वर्ष राजनीतिक दलहरूको काम सरकार फेर्ने र पुनर्निर्माण प्राधिकरणलाई पनि 'खेलौना' बनाउनमा नै सीमित भयो। भूकम्पपश्चात् चार सरकार र पाँच कार्यकारी अधिकृत बन्नु त्यसकै उदाहरण हो।
यसको परिणाम पुनर्निर्माणको गति अति नै सुस्त भयो। मानिसले अत्यासलाग्दा बर्खायाम र मुटु कमाउने जाडो छाप्रामा नै बिताउनुपर्यो। राज्यको साथ र भरोसाले भरथेग गर्न सकेको देखिएन। सरकारहरूले आफ्नो सफलता झल्काउने बुँदा सार्वजनिक गरिरहँदा धेरैमा प्रतितर्क निस्कन्छ- भूकम्पपीडितको अवस्था उस्तै छ।
भूकम्पपछिको पुनर्निर्माणमा सरकारी पहलभन्दा निजी वा संघसंस्थाका पहलहरू बढी चर्चामा आए। एकीकृत बस्ती बनाउनेहरुमाथि आम मानिसको भरोसा बढेको देखियो।
जिम्मेवार निकायले हेलचेक्र्याइँ गरेको मात्रै होइन, पाठ नसिकेको अवस्था पनि देखियो।
भूकम्पबाट हामीले सिक्नुपर्ने केही विषयहरू थिए। जस्तो कि खुला ठाउँको संरक्षण। मुख्य सहरमा बचेका केही खुलास्थानमा त्यतिबेलामा पीडितहरूले लामो समयसम्म बसेर दिन बिताएका थिए। तर, पछिल्लो समय त्यस्ता स्थानको दोहन गर्ने क्रम जारी छ। काठमाडौंमै खुलामञ्च मिचिएका मात्रै होइन, सार्वजनिक जग्गाहरू व्यक्तिका नाममा सार्ने क्रम उस्तै छ। घरहरू बन्ने क्रम रोकिएको छैन। अहिले पनि सलाइका बट्टा ठड्याएजस्ता घरहरू देख्न सकिन्छ। यसतर्फ कुनै विशेष पहल हुन सकेन।
अर्कोतिर, जेजति भौतिक संरचना निर्माण भएका छन्, तिनमा नेपालको मौलिक परम्परा ध्वस्त पार्ने काम भएको छ। आम मानिसमा हाम्रा पुराना संरचना शैली भूकम्प प्रतिरोधी छैनन् र अब नयाँखाले घर वा संरचना बनाउनुपर्छ भन्ने मानसिकता विकसित भयो। जिम्मेवार निकायले न कुनै अनुसन्धान गरेर कुनै निष्कर्ष निकाल्न सके, न कुनै विकल्प दिन सके।
भयो के त? हाम्रा विशिष्ट पहिचान बोकेका कतिपय गाउँघरहरु खलबलिए। चामलका गेडा छरिएजस्ता घरहरु टल्किन थाले। हामीले अवसर गुमायौं।
भूकम्पका कारण भत्किएका पुरातात्विक महत्त्वका संरचनाको पुनर्निमाणको अवस्था पनि उत्साहजनक छैन। बाह्य देशबाट आउने भनिएको सहयोग रकम पनि हाम्रा लागि आकाशको फलजस्तै भयो। कुनै किसिमका प्रभावकारी कूटनीतिक पहल गर्न सकेको देखिएन।
यस्ता ऋणात्मक सूचकहरूले गर्दा 'क्षतिलाई अवसरमा बदल्ने' भन्ने हाम्रो प्रतिबद्धता साह्रै खोक्रो सावित भएको छ। अहिले त हामी पाठ सिक्नेतिर होइन, भूकम्प गएकै भुल्न पो थाल्यौं कि भन्ने प्रतीत हुँदैछ।
हामीले बेवास्ता गरिरहे हामीसँग त्यही आघात हात लाग्ने छ, जुन चार वर्षअघिको भूकम्पपछि हात लागेको थियो। जेजे सम्भव छ, सिकौं र व्यवहारमा लागू गरौं। मर्म के हो भने, हामीले भूकम्प नबिर्सौं। यसलाई पाठका रूपमा लिँदै भविष्यमा हुनसक्ने जोगिम न्यूनीकरणको तयारीमा लागौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।