गौशाला- स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं २ को महोत्तरीमा गएराति ११ बजेसम्म उम्मेदवारी दर्ता भएको छ।
मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जिल्लाको कुल ७२० पदका लागि अधिक उम्मेदवारी दर्ता भएकाले अबेर रातिसम्म काम गर्नुपरेको बताए।
जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामा भएको उम्मेदवारी दर्ता राति अबेरसम्म चलेको थियो। बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको कार्यक्रम रहे पनि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार बेलुका ३ बजेपछि मात्रै बढी संख्यामा दर्ताका लागि आएका थिए।
उम्मेदवारी दर्तामा खटिएका कर्मचारी राति ११ बजेसम्म सबै उम्मेदवारको दर्तामा खटिएका थिए। तर राति २ बजेसम्म पनि कम्प्युटर इन्ट्री गर्न भ्याएनन्। अझै पनि सो काम भइरहेकाले बिहीबार बिहान जिल्लामा कति उम्मेदवारी दर्ता भएको भन्नेबारे स्पष्ट हुने अधिकृत पोखरेलले जानकारी दिए।
दुई पत्रकार चुनावमा
असोज २ गते प्रदेश नं २ अन्तर्गत हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरीबाट दुई पत्रकारले उम्मेदवारी दर्ता गराएका छन्।
महोत्तरी जिल्लाबाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिप्रसाद मण्डलले प्रमुख पदमा उम्मेदवारी दिएका हुन्।
महासंघ महोत्तरीको लगातार नौ वर्षसम्म अध्यक्ष रहिसकेका तथा हाल केन्द्रीय पार्षद् रहेका उनले आफ्नो स्थायी ठेगाना महोत्तरीको मटिहानी नगरपालिकाबाट प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन्। मण्डललाई राष्ट्रिय जनता पार्टी नेपालले मटिहानी नगरपालिकाको प्रमुख पदका लागि टिकट दिएको हो।
त्यसैगरी, नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाका सल्लाहकार तथा प्रदेश नं २ का प्रादेशिक पार्षद् वैद्यनाथ चौधरीले पनि पिपरा गाउँपालिका–७ बाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराए। उनी नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार हुन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।