तुलसीपुर (दाङ)- एक खेलाडी २५ वर्ष निरन्तर जीवनमा सक्रिय रहनु चानचुने विषय होइन। सबै खेलाडीलाई लामो समयसम्म खेलमा रहनलाई यस्तो सौभाग्य पनि मिल्दैन। फर्म र स्वास्थ्य दुवैले साथ दिए मात्र निरन्तर खेलमा लाग्न सम्भव हुन्छ। ९ वर्षको उमेरदेखि कराँतेमा लागेका मण्डेकाजी श्रेष्ठलाई भने शरीर र भाग्य दुवैले साथ दिएको छ। ३४ वर्षीय मण्डेकाजी कराँतेमा लागेको २५ वर्ष नाघिसक्यो। यो अवधिमा उनले सफलता र असफलताका थुप्रै परीक्षा पार गरेका छन्।
शनिबार उनका लागि ऐतिहासिक दिन सावित भयो। आठौं राष्ट्रिय खेलकुदअन्तर्गत कराँतेको प्रतिस्पर्धामा स्वर्ण जितेर उनले इतिहास बनाएका छन्। तीन फरक राष्ट्रिय प्रतियोगितामा उनले कराँतेका तीन फरक विधामा स्वर्ण जितेर इतिहास बनाएका हुन्।
शनिबार दाङको तुलसीपुरमा भएको पुरुष एकल कातामा पुलिसका खेलाडी मण्डेकाजीले स्वर्ण जितेर इतिहास बनाएका हन्। उनले काताको फाइनलमा सुदूरपश्चिमका ललित खत्रीलाई पछि पारेर स्वर्ण जितेका थिए। त्यसअघि उनले सेमिफाइनलमा आर्मीका परशुराम बास्तोलालाई हराएका थिए। परशुराम सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन्।
यसअघि, उनले काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा ५० केजी तौल समूहको फाइटमा स्वर्ण जितेका थिए। त्यतिबेला उनले फाइनलमा सशस्त्र प्रहरीका सुनील लामालाई पराजित गरेका थिए। लामाले पछि सागमा भाग लिँदै स्वर्ण जित्न सफल भए।
मण्डेकाजीले धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जित्न सफल भएका थिए। त्यतिबेला उनले टिम कातामा स्वर्ण हात पारेका थिए। उनीसहितको त्यतिबेलाको पुलिस टिममा गणेश थिङ, केदार सिंखडा र निरबहादुर मोक्तान थिए।
सातौं राष्ट्रिय खेलकुदमा भने उनी सफल हुन सकेनन्। एकल कातामा उनी पहिलो चरणमै पराजित भए। उनलाई परशुराम बास्तोताले पहिलो चरणमा हराएका थिए। बास्तोलाले पछि स्वर्ण पदक नै जिते।
यसरी चार वटा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएका मण्डेकाजीले तीन वटा प्रतियोगितामा तीन फरक विधामा स्वर्ण जित्न सफल भए। लामो सयमसम्म कराँतेमै साधना गर्दा उनले यो सफलता हात पारेका हुन्। त्यसो त उनले बाल्यकालमा पहिलो पटक सिकेकै खेल कराँते हो। २०५१ सालमा थिमी डोजोमा उनी भर्ना भएका थिए। कराँतेमा आबद्ध हुनुमा बुवाबाट मिलेकाे प्रेरणा नै प्रमुख मान्छन् उनी।
उनले त्यसपछि राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा भाग लिन थाले। पहिलो ठूलो प्रतियोगितामा भाग लिने उद्देश्यका साथ उनले २०५५ मा नेपालगन्जमा आयोजना भएको चौथो राष्ट्रिय खेलकुदको छनोटमा भाग लिए। तर, १२ वर्षे ठिटो मण्डेकाजीकाे पहिलाे गासमै ढुंगा लाग्याे। त्यसपछि भने उनी राष्ट्रिय प्रतियोगितामा छाउन थाले। तर, उनको अन्तर्राष्ट्रिय सहभागितामा भने तितो अनुभव छ।
सन् २०१० मा बंगलादेशको ढाकामा भएको एघारौं साग गेम्सका लागि उनी छनोट भएका थिए। राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि उनी बैंकक पनि पुगे। तर, साग गेम्समा कराँते खेलका १५ वटा तौल समूहलाई घटाएर १० वटा तौल समूहबीच मात्र प्रतिस्पर्धा गराउने निर्णय भयाे। जसको प्रत्यक्ष मार मण्डेकाजीसहित ५ खेलाडीलाई पर्याे। उनीहरुको तौल समूह काँटिदा प्रतियोगितामा भाग लिनबाट वञ्चित भए। सागमा नेपालको झण्डा फहराउने धोको पूरा नभएको त्यो क्षण मण्डेकाजीले अहिले पनि बिर्सन सकेका छैनन्।
'बैंककमा तयारी गरेर ढाका जाने कुरा भइरहेको थियो। तर, एक्कासी हाम्रो तौल समूह काटिएको कुरा आयो। पछि पदाधिकारीहरुले थप हुने आश्वासन पनि दिए। तर, आश्वासन पूरा भएन। छनोट भएर पनि साग गेम्स खेल्न नपाएको उक्त क्षण अहिलेसम्मकै दु:खद हो,' उनी ९ वर्ष अघिको घटना सम्झिन्छन्।
तीन वर्षअघि भारतमा भएको १२औं सागमा त उनी मात्र होइन समग्र कराँते खेलाडीले नै प्रतिस्पर्धा गर्न पाएनन्। प्रतियोगितामा कराँतेलाई प्रतिस्पर्धाबाटै हटाइएको थियो।
३४ वर्षको उमेरमा चौथो पटक राष्ट्रिय खेलकुद खेलेर तीन फरक विधामा स्वर्ण जितेका मण्डेकाजीको साग खेल्ने सपना भने अझै मरेको छैन। उनको ब्याचका अधिकांसा साथीहरु खेलाडी जीवनबाट अलग भइसकेका छन्। सन्यास लिएका कोही प्रशिक्षक भएका छन् भने कोही रेफ्री। मण्डेकाजी भने अझै खेल्ने मुडमा छन्।
'मेरो खेलाडीका रुपमा साग गेम्स खेल्ने अन्तिम इच्छा हो। आगामी डिसेम्बरमा हुने तय भएको साग गेम्स खेल्न पाएमा मेरो लक्ष्य पूरा हुनेछ,' उनले योजना सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।