२०२७ बैसाख ६ गते काठमाडौंमा स्थापना भएको नेपाल विद्यार्थी संघ (नेविसंघ) ४९ वर्ष पूरा गरी स्वर्ण वर्षमा प्रवेश गरेको छ। संस्थापक अध्यक्ष विपीन कोइरालादेखि नैनसिंह महरसम्म आइपुग्दा यो संगठनले १८ अध्यक्ष प्राप्त गरिसकेको छ।
महरको राजीनामापश्चात् १९औं अध्यक्षको पर्खाइमा रहेको नेविसंघ ४९औं स्थापना दिवस मनाइरहँदा मझधारमा आइपुगेको छ। नेतृत्वको अभावले गर्दा नेविसंघको गतिविधि र माउपार्टी नेपाली कांग्रेसको धारणा विद्यार्थीसमक्ष पुग्नसकेको छैन। अझ नेविसंघका द्वितीय अध्यक्ष शेरबहादुर देउवा हाल पार्टीको सभापति हुनुहुन्छ।
पार्टीको नेतृत्वमा रहेका ९० प्रतिशत नेताहरु नेविसंघको राजनीतिबाटै पार्टी राजनीतिमा स्थापित हुनुभएको छ तर पनि उहाँहरुले नेविसंघको नयाँ समिति गठन र कार्यकर्ता व्यवस्थापनमा तदारुकता नदेखाएको देख्दा अचम्मित बनाउँछ। नेविसंघको पूर्व अध्यक्षहरु भने ६ निर्वाचित, ५ सर्वसम्मत र ७ सभापति तदर्थ समितिबाट छानिएका छन्।
गौरवशाली पृष्ठभूमि २००४ सालको 'जयतु संस्कृतम् आन्दोलन' र २००७ सालको परिवर्तनपछि पनि विद्यार्थीको भूमिका महत्वपूर्ण रह्यो। २०१७ सालमा तत्कालीन राजा महेन्द्रले राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाए। त्यसबेला राजनीतिक दलको विचार गाउँ–गाउँमा पुर्याउन सेतुका रुपमा प्रयोग हुन थालेको समयमा २०२६ बैसाख ६ गते कांग्रेस संस्थापक नेताहरुको सक्रियतामा नेविसंघ गठन भएको थियो।
२००४ सालको प्रथम विद्यार्थी आन्दोलन जयतु संस्कृतम्पश्चात् दोस्रो ठूलो आन्दोलन २०३६ सालको आन्दोलन पनि नेविसंघको नेतृत्वमा सम्पन्न हुन पुग्यो। जुन आन्दोलनले जनमत संग्रहको माग मात्र गरेन जनमत संग्रह हुँदै स्ववियु निर्वाचनसम्म गराउन तत्कालीन पञ्चायती सरकारलाई बाध्य बनायो। यति मात्र होइन २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलनसमेत सफलतापूर्वक सम्पन्न गराउन नेविसंघको योगदान रह्यो। ०४६ सालको परिवर्तनपश्चात् विस्तारै राजनीतिक मुद्दाबाट टाढिँदै गएको नेविसंघ फेरि २०५९ सालमा तत्कालीन राजाले शासनसत्ता आफ्नो हातमा लिएपश्चात् दोस्रो जनआन्दोलनमार्फत् लोकतान्त्रिक गणतन्त्रको स्थापनामा सक्रिय बन्यो।
२०७२ सालमा दोस्रो संविधानसभामार्फत् संविधान जारी भएपछि तीनै तहको निर्वाचन भइसकेको छ। नेकपाको सरकारमा यतिबेला नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी पार्टी बनेको छ। अब राजनीतिक दिशालाई छाडेर नेविसंघ शैक्षिक जागरण र शैक्षिक क्रान्तिमा लाग्नुको विकल्प छैन।
नेतृत्वको अभावले विभिन्न जिल्ला, क्याम्पस र केन्द्रको गतिविधि ठप्प हुन पुगेको छ। तर केही जिल्लामा भने संगठन घोडाको दौडाइझैं दौडिरहेको छ। समग्रमा आज नेविसंघको संगठन न उत्कृष्ट बनेको छ न त खराब नै। नेविसंघ वास्तवमै मझधारमा लडखडाइरहेको अवस्था छ।
जतिसक्दो चाडो संगठन सुदृढीकरण गरी कार्यसमितिलाई पूर्णता दिनुको विकल्प छैन। नेविसंघको १९औं केन्द्रीय समिति बन्दै गर्दा देशभरका विद्यार्थीको ठूलो आशा थियो। अब पनि समय छ। आउँदै गरेको स्ववियु निर्वाचनमा कर्णालीका खसआर्य, काठमाडौंका दलित, पूर्वका जनजाति, मधेसका मुस्लिम-मधेसी र सुदूरपश्चिमका महिला र भर्खर मतदाताको रुपमा प्रवेश गर्दै गरेका युवाको मुद्दा संगठनले बोक्नुपर्छ।
पार्टी नेतृत्वले गुट र उपगुटको मानसिकताबाट माथि उठेर उदार हृदयका साथ योग्य सक्षमका हातमा नेविसंघ जिम्मा दिनुको विकल्प छैन। लोकतान्त्रिक व्यवस्थामा र विद्यार्थीमा कहिले पनि उमेर पर्खाल बनेर आउँदैन र आउनु हुँदैन पनि। नेविसंघको उमेर हदबन्दी अविलम्ब विधानको अंगबाट हटाइनुपर्छ। विद्यार्थी संगठनको मेरुदण्डको रुपमा रहेको क्याम्पस इकाइ र स्ववियुबाट केन्द्रीय प्रतिनिधि हुने व्यवस्था पछिल्लो संशोधित विधानमा हटाइएको छ। त्यसलाई पुन: व्यवस्थामा राखिनुपर्छ। विद्यार्थीको हितैषी संगठन र सुखदुःखको साथी बनाउने अभियानमा अब नेविसंघ होमिनुको विकल्प छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।