काठमाडौं- डा गोविन्द केसीले पूर्वघोषित अनसन नबस्ने निर्णय गरेका छन्। डा केसीले सरकारले माग पूरा नगरे आज (बुधबार) देखि अनशन बस्ने घोषणा गरेका थिए। त्रिभुवन विश्वविद्यालयका सहकूलपति एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का खोसिएका अधिकार फिर्ता गर्ने निर्णय गरेसँगै डा केसीको पूर्वघोषित अनशन टरेको हो।
डा केसीले आइओएमको अधिकार फिर्ता हुनुपर्ने, काठमाडौं नेसनलको सम्बन्धन खारेज हुनुपर्ने, चिकित्सा शिक्षा विधेयक माथेमा प्रतिवेदनका आधारमा पारित हुनेपर्ने जस्ता माग राखेका थिए। डा केसीलाई अनशन बस्ने अवस्था नल्याउन सरकारले उनका माग सम्बोधनको प्रक्रिया अघि बढाएको हो। त्रिविले काठमाडौं नेसनलको सम्बन्धन खारेजी गरिसकेको छ भने विधेयकको विषयमा पनि सकारात्मक रहेकाले डा केसीको पूर्वघोषित अनशन रोकिएको डा केसीका तर्फबाट वार्ताटोलीका सदस्य डा डा अभिषेकराज सिंहले जनाए।
बुधबार मन्त्री श्रेष्ठले आइओएमले उपयोग गर्दै आएका तर बीचमा त्रिविले खोसेका अधिकार तत्काल फिर्ता गरी मन्त्रालयमा जानकारी गराउन निर्णय गरेका हुन्। उक्त निर्णयको निर्देशन पत्र मन्त्रालयले त्रिवि उपकुलपति तीर्थ खनियाँलाई पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।