चितवन- सौराहामा पर्यटकको संख्या निकै खस्किएको छ। सडक असुविधाका कारण पर्यटक आगमन घटेको पर्यटन व्यवसायीहरुले बताएका छन्।
काठमाडौं र पोखरा आवतजावत गर्ने मुख्य सडक नारायणगढ–मुग्लिन खण्डको स्तरोन्नतिको काम भइरहेकाले पहिरो खसेर घन्टौं जाम हुने समस्याका कारण पर्यटक चितवन आउन नसकेका हुन्।
सौराहामा अहिले हालसम्मकै न्यून पर्यटक रहेको क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष दीपक भट्टराईले बताए ।
उनले भने, 'विगतका वर्षमा यतिबेला सौराहामा दैनिक ६ सयको हाराहारीमा पर्यटक हुन्थे, यस वर्ष दुई सय पनि पुग्न मुस्किल छ ।'
बाढीका कारण होटल र रेस्टुरेन्टहरु बगाएर प्रभावित भएको सौराहाको पर्यटन मुग्लिन सडकको कारण अझ थलिएको उनले बताए । सडकमा घन्टौं जाम हुँदा सास्ती हुने देखेपछि होटल बुकिङ गरेका पर्यटकले पनि रद्द गरेका छन् ।
काठमाडौं र पोखराका होटल करिब ७५ प्रतिशत बुकिङ हुँदा सौराहामा पर्यटक नभएर चिन्ता बढेको व्यवसायीहरु बताउँछन् । सौराहामा साना-ठूला गरी १ सय १० वटा होटल सञ्चालनमा छन्।
क्षेत्रीय होटल संघ सौराहाका सचिव दामोदर रेग्मी दुई दिनका लागि आउने पर्यटकले १८ देखि २० घण्टासम्म सडकमा बिताउनुपर्ने अवस्था रहेको बताए । 'छिटो सडक निर्माण हुन नसके सौराहाको पर्यटन क्षेत्र तहसनहस हुनेछ', उनले चिन्ता व्यक्त गर्दै भने।
व्यवसायीले काठमाडौंबाट चितवनतर्फ आउने गाडीलाई नारायणगढ–मुग्लिन सडकको विकल्पमा नौबिसे, हेटौंडाको दामन हुँदै एकतर्फी रुपमा सञ्चालन गर्न अनुरोध गर्दै आएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।