काठमाडौं– पटकपटक नेपालका प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाको २०७२ बैसाख २ मा भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। पञ्चायतवादी र बहुदलवादी मात्रै होइन, महेन्द्रदेखि ज्ञानेन्द्रसम्मले उनलाई पत्याए। सिद्धान्त, जनपक्षधरता वा अडान भएका नेताका रुपमा उनी चिनिँदैनथे। तर पनि महेन्द्रदेखि ज्ञानेन्द्रसम्मले उनलाई पत्याए। दोस्रो संविधानसभाका सदस्यलाई सपथ खुवाउने अवसर पनि पाए। दलहरुको द्वन्द्व बढ्दा होस् वा राजालाई अप्ठ्यारो पर्दा होस्, धेरैपटक सूर्यबहादुर अघि सारिए।
पञ्चायतकालमै १३ बुँदे माग राखेका कारण जेल परे। त्यतिबेलाका कांग्रेसभन्दा चर्का माग राखे। आफ्ना पिताका रुपमा र नेताका रुपमा सूर्यबहादुरलाई उनका पुत्र सुनीलबहादुरले कसरी सम्झिन्छन् त? प्रस्तुत छ, उनीसँग नेपाल लाइभले गरेको कुराकानीः
OOO
मैले बुबालाई सम्झिँदा शिक्षा प्राप्तिलाई दिनुभएको जोड नै सम्झिन्छु। उहाँ हामीले पढेनौं भने रिसाउनुहुन्थ्यो। कहिलेकाहीँ पिट्नु पनि हुन्थ्यो। अनुशासन कायम राख्नुहुन्थ्यो। मूल्यमान्यतामा जोड दिनुहुन्थ्यो। रीतिरिवाज र धर्म–संस्कृति नै प्राथमिकता दिनुहुन्थ्यो। हामीलाई त्यस किसिमको अभ्यासमा अभ्यस्त बनाउनुभयो।
म धनकुटाको मुगामा जन्मिएको हुँ। एक वर्षमै म काठमाडौं आएको थिएँ। शिक्षाप्रेमी भएकैले उहाँले त्यस क्षेत्रका केहीलाई काठमाडौं ल्याएर पढाउनुभएको थियो। हामीलाई आम मानिससँग घुलमिल गराउन पनि उहाँले प्रयत्न गर्नुभयो। घरमा मोटर हुँदाहुँदै पनि स्कुल जाँदा भने हिँडेरै जानुपर्थ्यो।
हाम्रा आफन्तहरुलाई जोड्ने 'ग्लु' पनि हुनुहुन्थ्यो बुबा।
पदले वा अरु केहीले, परिवारभित्र पनि उहाँलाई सबैले मान्दथे। कतिसम्म भने मेरो हजुरआमा नै बुबा बसेको कोठामा आउनुहुँदा उहाँले 'आमा बसिबक्सियोस् न' नभनेसम्म बस्नुहुन्नथ्यो। अरु पनि त्यसै गर्थे।
OOO
नेताको रुपमा उहाँलाई पाउँदा मलाई अचम्म लाग्छ। एउटै घरभित्र नेता पनि देखियो। बुबा पनि देखियो। 'स्ट्रङ पर्सनालिटी' भएको राजनीतिक गुरु भेटेँ।
विदेश सचिव भएका बेला श्यामशरण यहाँ आएर बुबालाई भेटे। उनले भने– तपाईं यो देशको राजनीतिक ज्योतिषी हो। तपाईं भविष्यवाणी गर्न सक्नुहुन्छ। अर्थमन्त्री भएका बेला प्रणव मुखर्जीले त नेपालको मात्रै होइन, दक्षिण एशियाकै टप नेता भन्नुभएको थियो।
बुबा एक जना निर्भीक व्यक्ति हुनुहुन्थ्यो। कसैसँग डराउनुहुन्नथ्यो। कहिलेकाहीँ राजा वा समकालीन साथीहरुसँग गरेको कुरा सुन्दा हामीलाई डर लाग्थ्यो। अप्ठ्यारो परिस्थितिमा पनि आफ्ना कुरा राखेर अरुको मन जित्न सक्नुहुन्थ्यो।
उहाँमा दुरदर्शिता पनि थियो। उहाँले बृहत् प्रजातान्त्रिक शक्तिको जुन कुरा गर्नुभएको थियो, अहिले धेरैको मुखबाट त्यही नै सुनिन्छ।
नेपालमा हुने परिवर्तनबारे उहाँको स्पष्ट धारणा थियो– कि आफूले जनतालाई डोहोर्याउनुपर्छ, कि जनतासँग डोहोरिनुपर्छ।
OOO
कुनैकुनै सार्वजनिक कार्यक्रममा भने बुबा र नेता हुनुको अप्ठ्यारो पर्थ्यो। म जनशक्ति पार्टीको केन्द्रीय सदस्य पनि भए। केन्द्रीय मिटिङमा जाँदा बुबा त भन्नुभएन। त्यतिबेला भने अप्ठ्यारो पर्थ्यो। सार्वजनिक कार्यक्रमहरुमा सम्बोधनहरु गर्नुपर्ने बेलामा पनि अप्ठ्यारो पर्थ्यो।
राजनीतिक टाइमलाइनमा मैले तीन वर्षमात्रै बुबासँग बिताउन पाएँ। त्यसकारण उहाँबाट मैले जति सिक्नुपर्ने वा जान्नुपर्ने थियो, त्योचाहिँ पाइनँ। तर, सूर्यबहादुरको छोरा हुनाका कारण मैले अवसर नै बढी पाएँ।
उहाँ अध्यक्ष भएको बेला मैले चुनाव लडेँ। चुनाव लड्न त कसैले पनि रोकेन। कार्यसम्पादन समितिका सबैले मलाई चुनाव लडाउनुपर्छ भने। तर त्यसपछि भने अप्ठ्यारो अवस्था आयो। मन्त्री बनाउने बेलामाचाहिँ उहाँलाई कठिन भयो होला भन्ने लाग्छ। तर मलाई मन्त्री बनाउनुभयो।
म निर्वाचित सांसद भएकाले मलाई मन्त्री बनाउनु भयो। त्यतिबेला साथीहरुले दुःख पनि मान्नुभयो। उहाँ पार्टी अध्यक्ष भएका बेलामा पार्टीले निकै राम्रो कामहरु गर्यो। पार्टी सत्तामा पनि पुग्यो। उहाँमा दुरदर्शिताको क्षमता थियो।
OOO
(२०१७ पुस १ को महेन्द्रको भाषण सूर्यबहादुरले लेखेको भन्नेबारेको चर्चा) हामीले कहिल्यै पनि सुनेनौं। उहाँले पनि केही भन्नुभएन।
राजा महेन्द्रले ०२८ सालमा अब बहुदलीय शासन प्रणालीमा जाने भन्ने मानसिकता बनाइसकेपछि शम्भुप्रसाद ज्ञवालीलाई संविधान लेख्न अह्राउनुभयो। मेरो बुबालाई भने सुवर्ण शमशेर, बिपी तथा ज्ञवालीसँग सहकार्य भनिएको र त्यसको ड्राफ्ट लेख्ने हेर्ने गर्नुभएको कुराचाहिँ हामीलाई बताउनुभएको थियो।
OOO
शासन व्यवस्था चलाउँदा हरेक चिज व्यहोर्नुपर्छ। पञ्चायतभित्र प्रजातन्त्रलाई सुदृढ गर्नुपर्छ भन्नुहुन्थ्यो। त्यो सबैलाई अटाउने व्यवस्था होस् भन्ने उहाँको चाहना थियो। त्यसकै नेतृत्व गर्नुभयो। त्यसैले पनि पञ्चायतभित्र उदार र अनुदारवाद भनेर दुईवटा खेमा नै बने।
जनमत संग्रहपछि भने उहाँले अब राजा सर्वोच्च हुनुपर्छ भन्नुभयो। बेलायतको जस्तो हुनुपर्छ भन्नेमा उहाँले जोड दिनुभयो। अर्काथरिले अब झन् राजा सक्रिय हुनुपर्ने बताए। उहाँले पञ्चायतलाई झन् साँघुरो बनाउनु हुँदैन भन्नुभयो। त्यसैले ०२९ सालमा १३ बुँदे माग राख्नुभयो। पछि अनसन पनि बस्नुभयो।
एउटा कुरा के बुझ्नुपर्छ भने नेपालमा जेजति प्रजातान्त्रिक शक्ति बाँचे, उहाँकै कारण बाँचे। राजा महेन्द्रले सत्ता हातमा लिएपछि साम्यवादी शक्तिलाई बढुवा दिए। बुबाले भने प्रजातान्त्रिक शक्तिलाई आफ्नै हिसाबले संरक्षण गरेर ल्याउनुभयो।
उहाँले ०१७ पछि जेल परेका बिपीलाई छाड्नुपर्छ भनिरहनुभयो। बरु बिपीलाई पनि पञ्चायतमै ल्याउनुपर्ने बताउनुभयो। किनकि, पञ्चायतलाई फराकिलो बनाउनुपर्ने बताउनुभयो। उहाँकै पहलमा बिपी छोडिनुभयो। तर बिपीलाई काठमाडौंमा भेट दिइएन।
OOO
जनमत संग्रहका बेला पञ्चायतले जित्यो भने त्यसलाई सुधार गरेर लैजाने भनिएको थियो। पञ्चायतलाई फराकिलो बनाउँछौं भनिएको कारणले नै त्यसले जित्यो।
राजालाई सहयोग गरेको तथा आफ्नै पालामा छिन्ताङ काण्ड भएको विषयमा उहाँमा पश्चाताप थिएन्। उहाँले जहिल्यै पनि आफूले शासन गर्ने बेलामा भएका हर घटनाका लागि आफूले जिम्मेवारी लिनुपर्छ, त्यसप्रति कुनै पश्चाताप छैन भन्नुहुन्थ्यो।
उहाँ पटकपटक प्रधानमन्त्री बन्नुभयो। त्यो अवसर छोप्ने भन्दा पनि आवश्यकताले हो। जस्तो कि ०६० सालमा चुनाव गराउन भनेर उहाँलाई प्रधानमन्त्री बनाइएको थियो। तर चुनाव हुन सकेन। उहाँ केही महिनामै बाहिरिनुभयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।