रोल्पा- थवाङ रोल्पाबाट ५ वर्ष अघि एक १५ वर्षिया किशोरी घरबाट हराइन्। दाउरा लिन जंगल गएकी उनी साँझ घर फर्किनन्। उनका विषयमा सोधीखोजी भयो। इलाका प्रहरी कार्यालय थवाङमा खोजतासका लागि परिवारले निवेदन दर्ता गरे।
हुलियाका आधारमा प्रहरीले खोजतलास गर्यो तर उनी फेला परिनन्। हराएको ४ वर्षपछि उनी टुप्लुक्क घरमा आइपुगिन्। यसपटक घर फर्कदा भने उनको साथमा २ वटा बच्चा समेत थिए।
श्रीमानले अर्की भित्र्याएपछि रोल्पा नगरपालिका-१ की मनकुमारी कुँवर (नाम परिवर्तन) घरबाट निस्किइन्। २ छोरी घरमै छाडेर निस्किएकी उनी लामो समय काठमाडौंको ईंटाभट्टामा काम गरिन्। ईंटाभट्टामै एक युवासँग मायाजालमा परेकी उनी गर्भवती भइन्।
गर्भवती भएको थाहा पाएपछि युवा बेपत्ता भए। छोरीको जन्म दिएकी उनी घर फर्किइन्। बुबाको पहिचान नहुँदा वडा कार्यालयले बालिकाको जन्मदर्ता गर्न मानेको छैन। जन्मदर्ता नहुँदा उनलाई विद्यालय भर्नामा समेत समस्या छ।
रोल्पामा हराउने गरेका महिला तथा बालबालिकाले भोग्ने गरेका समस्याका प्रतिनिधि घटना मात्र हुन् यी। जिल्लामा हरेक वर्ष ठूलो संख्यामा महिला र बालबालिका हराउने गरेका छन्। यो क्रम पछिल्ला वर्षमा झनै बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पा अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार बितेका ४ वर्षमा जिल्लामा ३ सय महिला तथा बालबालिका हराए।
यसरी हराउनेमध्ये १ सय ९१ महिला र १ सय ९ बालबालिका थिए। बालबालिका मध्ये पनि ५९ जना बालक र ५० जना बालिका रहेको प्रहरी अभिलेखमा उल्लेख छ।
हराएको भनी उजुरी परेकामध्ये केही महिला तथा बालबालिका भने घर फर्किसकेका छन्। अभिभावकले दिएको हुलियाका आधारमा प्रहरीद्वारा खोजतलास गर्दा र आफैं घर फर्केका समेत गरि बितेको ४ वर्षमा १ सय ५७ जना परिवारको सम्पर्कमा आइसकेका छन्।
यसरी सम्पर्कमा आउनेमध्ये महिला ८८ र बालबालिका ६९ जना रहेका छन्। प्रहरीको तथ्यांकअनुसार अझै १ सय ४३ जना फेला पर्न सकेका छैनन्। हराएकाहरु कहाँ जान्छन् र नभेटिएकाहरु कहाँ छन् यो चासोको विषय बन्ने गरेको छ।
आर्थिक वर्ष २०७२/०७३ मा जिल्लामा ८० जना महिला तथा बालबालिका हराएका थिए। सो वर्ष २५ जना मात्रै परिवारको सम्पर्कमा आए। ५५ जना अझै फेला पर्न सकेका छैनन्। यसैगरी आर्थिक वर्ष २०७३/०७४ मा ८७ जना महिला तथा बालबालिका हराए। सो वर्ष ३० जना महिला तथा बालबालिका फेला परे भने ५७ जना अझै सम्पर्कमा आएका छैनन्। आर्थिक वर्ष २०७४/०७५ मा हराएका ७७ जना महिला तथा बालबालिका ६२ जना फेला परे भने १६ जना फेला पर्न सकेनन्।
चालु आर्थिक वर्षको फाल्गुनसम्म हराएका ५६ मध्ये ४० जना फेला परेका छन् भने १६ जना अझै भेटिएका छैनन्।
हराएकाहरुका अभिभावकले दिएको सूचनाका आधारमा खोजी गर्न देशभरका प्रहरी यूनिटमा हुलिया सहित जानकारी गराइने प्रहरीको भनाइ छ।
हुलियाकै आधारमा प्रहरीले हराएकाहरुलाई फेला पर्ने गरेको छ। हराएकामध्ये ठूलो संख्याका महिला तथा बालबालिकालाई प्रहरीले काठमाण्डौका ईंटाभट्टामा फेला पर्ने गरेको छ। ईंटाभट्टामा काम गर्ने गाउँकै नाईकेले ललाईफकाई ईंटाभट्टामा लैजाने भएकाले अधिकांश महिला तथा बालबालिका परिवारलाई जानकारी नदिई भाग्ने गरेको पाइन्छ।
परिवारलाई अत्तोपत्तो नदिई घर, विद्यालय, पसल, घाँसदाउरा तथा पँधेराबाटै हराउँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने गरेको गरेको छ। हराएका सदस्यको खोजीमा लामो समय बित्ने गरेको हराएकाहरुका अभिभावकले दुखेसो पोखे। यसरी हराएका अधिकांश महिला बैवाहिक सम्बन्ध स्थापित गर्न आफूखुसी हिँड्ने गरेको प्रहरीले बताएको छ।
हराएकामध्ये धेरैको परिवारमा बेमेल हुने गरेको देखिन्छ। मादक पदार्थ सेवनका कारण हुने पारिवारिक बेमेलले महिला तथा बालबालिका घर छाड्न बाध्य हुने गरेको पाइन्छ।
जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी सहायक निरीक्षक मीना विकले भनिन्। 'यसरी हिडेका महिला तथा बालबालिका ईंटा भट्टा, होटेल तथा भारतका विभिन्न स्थानमा रोजगारीमा संलग्न हुने गरेको छन्,' सहायक निरीक्षक विकले भनिन्।
परिवारका सदस्य हराउँदा आत्तिएर प्रहरीलाई खबर गर्न आउने तर सम्पर्कमा आउँदा प्रहरीलाई जानकारी नगराउने कार्यले हराउनेको संख्या अधिक देखिने गरेको प्रहरीको भनाइ छ।
हराएका नागरिक सम्पर्कमा आए/नआएको जानकारी सुरक्षा निकायमा हुनु जरुरी भएपनि त्यसका लागि प्रहरी वा अन्य सरकारी निकायले संयन्त्र निर्माण गर्न सकेका छैनन्।
नागरिकको कर्तव्यबोध गर्दै हराएकाहरू सम्पर्कमा आउने बित्तिकै प्रहरीमा खबर गरे तथ्यांक अद्यावधिक गर्न सहज हुने प्रहरीले अपेक्षा गरेको छ।
घरबाट भागेर हिडेका सम्पर्क अभावमा अलपत्र परेका कैयौं महिला तथा बालबालिकालाई प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाउने गरेको छ। यस वर्ष ईंटाभट्टा जान भनी घरबाट हिडेर दलालसँग सम्पर्क हुन नसकेका ३ महिला र २ बालबालिकालाई प्रहरीले आफन्तको जिम्मा लगाएको थियो।
नेपाल बाल मजदुर सरोकार केन्द्र (सिविन)लगायतका संस्थाले समेत उद्धार गरी प्रहरीलाई जिम्मा लगाउने गरेका छन्। त्यस्ता बालबालिका प्रहरीमार्फत परिवारसम्म पुग्ने गरेका छन्। अघिल्लो वर्ष ललितपुरको एक संस्थाले रोल्पाका दर्जन बढी बालबालिकालाई ईंटाभट्टावाट उद्धार गरी प्रहरीको तथा महिला बालबालिका कार्यालयको रोहवरमा आफन्तलाई जिम्मा लगाएको थियो।
यसरी हराउने बालबालिकाहरु मध्ये अधिकांश बालश्रममा प्रयोग भएको देखिएको छ। बालवालिकाको क्षेत्रमा काम गर्ने विभिन्न निकायले अघिल्लो वर्ष गरेको एक सर्वेक्षणमा जिल्लामा ४ सय ५४ बालबालिका बालश्रममा रहेका थिए।
यसरी बालश्रममा रहेका बालबालिका मध्ये सवभन्दा धेरै ईंटाभट्टामा २ सय १४ जना रहेको पाइएको छ। घरेलु बालश्रममा ७१, होटेल तथा रेष्टुरेन्टमा ७, यातायातमा १३, निर्माणमा ७ र भारत तथा अन्य क्षेत्रमा १ सय ४२ जना देखिएको छ।
गरिबी, चेतनाको अभाव, मादक पदार्थका र पारिवारिक बेमेलका कारण महिला तथा बालबालिका घर छाड्न बाध्य हुने गरेका छन्। गाउँकै नाईकेको लहलहैमा धन कमाउने आशामा ईंटाभट्टा जाने महिला तथा बालबालिकाको संख्या धेरै छ।
परिवारको संरक्षण र सूचना बिना त्यसरी जाने महिला तथा बालिकाहरु थप जोखिममा पर्ने गरेको महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यको भनाइ छ।'उनीहरु यौन तथा अन्य हिंसाको समेत शिकार हुने गरेका छन्,' आचार्यले भनिन्।
ईंटा भट्टामा गएका महिला तथा बालबालिकाहरु यौन दुर्व्यवहारमा परी बच्चा समेत जन्माउन बाध्य हुने गरेका छन्। घरबाट भागेर जाने त्यस्ता महिला तथा बालिकामध्ये कतिपय घर फर्कदा बाबुको पहिचान नखुलेका बच्चासहित फर्कने गरेका छन्।
यसले पारिवारिक विखण्डन निम्त्याउने समेत गरेको छ। यस्ता हिंसामा परी बाबुको पहिचान नखुलेकाका बालबालिकाको संख्या समेत जिल्लामा बढ्दै जान थालको छ। नेपाली नागरिकताका लागि उमेर पुगेपनि बाबुको पहिचान हुन नसक्दा उनीहरूलाई नागरिकता लिन समस्या छ।
गरिबी र चेतनाको अभावले विद्यालय उमेरका यस्ता बालबालिका भागेर ईंटाभट्टा वा अन्य यस्तै जोखिमपूर्ण काममा लाग्न बाध्य हुने गरेको सेभ द चिल्ड्रेन रोल्पाका दिलकमल क्षेत्रीले बताए। 'अभिभावकले समेत केटाकेटी पढाउने कुरामा चासो नदिँदा उनीहरु देखासिकी र लहलहैमा यस्ता काममा उद्यत हुने देखिएको छ,' क्षेत्रीले भने।
रोल्पामा विद्यालय उमेरका २ हजार ५ सय वढी बालबालिका विद्यालय बाहिर छन्।
जिल्लामा सरकारी तथा गैर-सरकारी क्षेत्रबाट बालश्रम रोक्न प्रयास गरिएपनि सार्थकता पाउन सकेको छैन। बालश्रमका कारण पहिचान गरी समाधान नहुँदासम्म यस्तो समस्या हल भइहाल्ने संभावना कम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।