काठमाडौं–दूरदराजका जिल्लाको लागि राजधानी काठमाडौं सपनाको शहर हो। केही गर्ने र केही बन्ने सपनाको पन्तरा बोकेर आएकाहरु यहाँको संघर्षमा हेलिन्छन्।
यस्तै सपना लिएर आजभन्दा ४० वर्षअघि एक तन्नेरी धादिङ पिप्लामोडबाट काठमाडौं पसेका थिए। त्यतिबेलाको २५ वर्षे ठिटोमा राजधानीको वातावरणमा रमाउने रहरभन्दा पनि आफू र परिवारका लागि कमाउने सोच थियो।
उनी हुन् अमरबहादुर अधिकारी। अहिले ६५ वर्ष पुगेका उनी विगतको आफ्नो सोच र आजको उपलब्धि केलाउँछन् र हिसाब निकाल्छन्–‘यो बीचमा काठमाडौंको निकै प्रगति भयो। स्याल कराउने झाडीमा चारैतिर भव्य घरहरु ठडिए। तर, यही ठाउँमा काम गर्दागर्दै म बूढो भएँ, मेरो केही प्रगति भएन।’
आज पनि उनी ४० वर्षअघि जस्तै दुई छाक जोरजाम गर्न भरदिन काममा खट्छन्। कुनै बेला भारी बोकेर सडकमा हिँड्ने उनी अहिले पनि सडकमै छन्। परिवर्तन उनको जीवनमा नआएको होइन, आयो। तर, परिवर्तनको नाममा कामको तौरतरिका मात्र फेरियो। उनी पहिले भारी बोक्थे, पछिल्लो समय सडकपेटीमा नाङ्लो पसल थापेर खिच्रिङमिच्रिङ सामान बेच्छन्।
***
पहिलो चोटि धादिङबाट काठमाडौं आएपछि उनी साथीहरुसँग मिलेर कोठा भाडा लिएर बसे। त्यसो त उनको घर नजिकै थियो, तर उनको टाठो दिमागले समयको किफायती सम्झिएर वहालको कोठामै बस्नु उचित सम्झियो।
अमरबहादुर सम्झिन्छन्, ‘घर जाने–आउने समयमा त धेरै भारी बोकिन्छ भन्ने लाग्यो र कोठामै बसेँ।’
पहिले उनी भारी बोकेको ज्याला ५/१० रुपैयाँ पाउँथे। त्यति थोरै ज्यालाले पनि उनको गुजारा चल्थ्यो । किनभने उतिबेला कोठाभाडा सस्तो थियो, सरसामानको भाउ पनि अहिले जस्तो छोइनसक्नु थिएन। उनले सम्झेसम्म एक सय रुपैयाँसम्मको भारी बोकेका थिए।
अधिकारी ७ सन्तानका पिता हुन्। आफूले पढिएन र भरिया बन्नुपर्यो भनेर उनले दु:खसुख छोराछोरीलाई भने बेलैमा पढाएका रहेछन्। फलस्वरुप उनीहरुले आफ्नो ठाउँमा गरेर खाइरहेका छन्।
डाँडाकाँडा ढाक्ने आधा दर्जन सन्तान भए पनि उनी यो शहरमा जीवनको युद्ध एक्लै लडिरहेका छन्। श्रीमती र केही छोराछोरी धादिङमा छन्, कोही विदेश, कोही गाडीलाइन र कोही नोकरीमा छन्। ७ सन्तानमध्ये ३ जनाको बिहेदान गराइसकेका छन्।
‘छोराछोरी आफ्नो जिम्मेवारी आफैं लिन सक्ने भए, यसमा खुसी लाग्छ’, खिस्स हाँसे।
घर छोडेर यतिका वर्ष काठमाडौं खाल्डोमा एक्लै बसिरहे पनि उनको एकसूत्रीय मान्यता छ, चाडबाडको बेला भने नबिराई घरपरिवारसँग रमाइलो गर्न पुग्ने। यसलाई नियमित पालना गर्दै आएका छन्।
आधा जिन्दगी भारी बोकेरै बिताएका अमरबहादुर बाँकी उमेर पनि कर्ममै खर्चँदै छन्। अचेल उनी भृकुटीमण्डपको गेट नजिकै सिजन अनुसार बदाम, काँक्रो, चना, केराउ, पानी बेच्नेगर्छन्। कमाएको रकममध्ये केही आफू राख्छन् र बाँकी श्रीमतीलाई घरखर्च पठाइदिन्छन्।
झट्ट हेर्दा उनी र उनी जस्ता सडक व्यापारीको काम सजिलो लाग्न सक्छ। तर, कहिले नगर प्रहरीले लखेट्छ, कहिले सामान लगिदिन्छ।
हालै लखेटिएर भृकुटीमण्डप गेट नजिकै सरेका उनले सुनाए, ‘अहिले यो गेटबाट लखेटेर यहाँ बस्न आएको छु। अब लखेटे अन्तै जाउँला। जहाँ गए पनि गरी खान दिँदैनन्।’
छोराछोरीले कमाएको खाने बेलामा उनी किन यस्तो झन्झटिलो सडक व्यापार गरिरहेका छन् त?
अनुहार मलिन बनाए र सुस्केरा हाले, ‘म बूढोले कमाएको पैसा लिन त पछि पर्दैनन्, उनीहरुले मलाई दिनु त परकै कुरा!’ यति हुँदा पनि उनले छोराछोरीको खुसी नै आफ्नो खुसी भन्न छुटाएनन्।
एकछिनमा हक्की स्वरमा भने, ‘मलाई कसैको केही चाहिएको पनि छैन । मैले गर्न सकुन्जेल आफैं कमाएर खान्छु।’
उनी बिहान कोठाबाट निस्किन्छन्, बेच्ने सामानहरुको जोरजाम गर्छन् अनि नाङ्लो र प्लास्टिकको धोक्रोमा सामान फिँजाएर साँझ नछिप्पिएसम्म सडकछेउमा बस्छन् । दिनमा एक हजार रुपैयाँको सामान ल्याएर बेच्छन्। कहिले सबै बिक्री हुन्छ, कहिले हुँदैन। दिनमा दुई सयदेखि पाँच सय रुपैयाँसम्म फाइदा हुन्छ।
४० वर्षदेखि काठमाडौंको सडकमा कहिले भरिया त कहिले फुटपाथे व्यापारी भएर बाँच्दै आउँदा सडकसँग उनको निकट साइनो गाँसिए झैं भएको छ। उनी अझै पनि सडककै कामलाई प्यारो मान्छन् । सुनाए, ‘जीवनको अन्तिम क्षणसम्म पनि व्यापार गरेर बस्न चाहन्छु।’
यति धेरै वर्ष सडक व्यापार गरिरहँदा उनलाई अलि व्यवस्थित रुपमा र सटर नै लिएर काम थालूँ भनेर नलाग्ने होइन । तर, समस्या खर्चबर्च र लगानीकै आउँछ। उनी घाँटी हेरेर मात्र हाड निल्छन्।
लगानी अभावसँगै उनले व्यापार बढाउन नचाहनुको कारण आफ्नो निरक्षरतासँग पनि जोडे । भने, ‘सटरमा व्यापार गर्न पैसा कहाँबाट ल्याउने ? फेरि मैले धेरै पढेको छैन, व्यापार बढाए पनि हिसाब गर्नै आउँदैन । त्यसैले मलाई अहिलेकै व्यापार ठीक छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।