‘जुन दिन मेरो छोराको हत्या भयो, त्यस दिन बिहानै उसले आफ्नो साथीलाई भनेको रहेछ- कोही मेरो गर्दन काट्दैछ भन्ने लाग्दैछ। जब उसको यो भनाई मलाई याद आउँछ, म भित्रैदेखि भक्कानिएर आउँछु। त्यो दिन सेलिस्टिन दुई हमलाकारीका साथ मेरो घरमा आए। उनीहरुका हातमा लामा-लामा तरबार जस्ता धारिला हतियार थिए। हामीले आफ्नो ज्यान बचाएर भाग्ने कोशिस गरेका थियौं। तर, विडम्वना सेलिस्टिनले आफ्नो हतियारले मेरा दुई बच्चाहरुको गर्दन काटे।’
यो भनाइ रुवान्डामा तुत्सी र हुतु समुदायको बीचमा भएको भयानक नरसंहारमा बाँच्न सफल भएकी एक आमा ऐन–मेरी उवीमानाकाे हो।

उवीमानाका बच्चाहरुलाई मार्ने अरु कोही थिएनन्, उनकै आफ्नै छिमेकी थिए। सेलिस्टिनझैं हुतु समुदायसँग जोडिएका आम मानिसले ७ अप्रिल १९९४ देखि सय दिनसम्म तुत्सी समुदायसँग सम्बन्ध राख्ने छिमेकी, श्रीमती र अन्य आफन्तको हत्या गर्न सुरु गरे। यस नरसंहारमा लगभग ८ लाख मानिसको मृत्यु भयाे। तुत्सी समुदायका सबै महिलाहरुलाई याैन दासी बनाएर राखियो।
नरसंहारको उद्गम बिन्दु के?
यो नरसंहारको सुरुवात हुतु समुदायबाट भएको थियो। हुतु समुदायसँग जोडिएका मानिसहरुले अल्पसंख्यक तुत्सी समुदायका जनता र आफ्ना राजनीतिक विरोधीहरुलाई निसाना बनाउन सुरु गरे। रुवान्डाको कूल जनसंख्यामा हुतु समुदायको बसोबास ८५ प्रतिशत रहेको थियो। तर पनि राजनीतिक र आर्थिक नेतृत्व अल्पसंख्यक तुत्सी समुदायका मानिसहरुले गर्दै आएका थिए।
वर्ष १९५९ मा हुतुले तुत्सी राजतन्त्रको अन्त्य गराए। त्यसपछि हजारौं तुत्सी समुदायका जनताहरु ज्यान बचाउन अन्यत्र भाग्न थाले। उनीहरु युगान्डा लगायतका छिमेकी देशहरुमा पलायन हुन थाले।

यसपछि निष्कासित तुत्सी समुदायले एक विद्रोही समूह खडा गरे। रुवान्डा प्याट्रिक फ्रन्ट (आरपिएफ) नाम दिइएको यस संगठनले १९९० को दशकमा सर्घष सुरु गरे। यो लडाई १९९३ मा शान्ति सम्झौता हुँदै अन्त्य भयो। तर, ६ अप्रिल १९९४ को रात तत्कालीन राष्ट्रपति जुवेनल हाबयारमाना र बुरुन्डीका राष्ट्रपति केपरियल नतारयामिरा सवार विमानलाई खसाइयो। जसमा सवार सबैले ज्यान गुमाए।
तर, यो विमान कसले खसाएको थियाे आजसम्म पत्ता लाग्न सकेको छैन। कतिपयले यो काम हुतु चरमपन्थीले गराएकाे आरोप लगाउँदै आएका छन्। तर, केहीले भने उक्त घटनामा आरपिएफको संलग्नता रहेकाे दाबी गर्दै आएका छन्।
चूँकी र ये, यी दुवै नेता हुतु समुदायका हुन्, यसकारण पनि यी दुबैकाे हत्यामा आरपिएफ समूहकाे हात रहेकाे हुतु पक्षधरले लगाए। त्यसकाे केही दिनपछि नै हत्याकाे शृंखला सुर भयाे।
नरसंहारको बहानाका लागि आरपिएफ समूहले पनि साे विमान हुतु चरमपन्थीहरुले नै खसाएको लगाएका थिए।
नरसंहारलाई कसरी सफल बनाइयाे?
नरसंहार पहिले चरमपन्थीहरुलाई सावधानीपूर्वक सरकार विरोधी व्यक्तिहरुको सूची गोप्यरुपमा उपलब्ध गराइएको थियो।
त्यसपछि लडाकुहरुले सूचीमा रहेका तुत्सी परिवारहरुको हत्या गर्न सुरु गरेका थिए। हुतु समुदायसँग जोडिएका व्यक्तिले तुत्सी समुदायका छिमेकीलाई समेत मार्न थाले। केही हुतु युवाले अर्को समुदायको मानिस मारेनन् भने उनीहरु आफैं पनि ज्युँदो रहने छैनन् भन्ने बुझाउन आफ्नै श्रीमतीको समेत हत्या गरे।

तत्कालीन समयमा सबै नागरिकसँग भएको परिचयपत्रमा उसको जाति उल्लेख हुने गर्दथ्यो। यसकारण पनि तुत्सी जातिका व्यक्तिलाई छानीछानी हत्या गर्न थालियाे। लडाकुहरुले सडकमा नाकाबन्दी गरे र छानीछानी तुत्सी समुदायका व्यक्तिहरुलाई धारिलाे हतियार प्रयाेग गरी मार्न थालियाे। त्यस्तै हजारौं तुत्सी महिलाहरुलाई अपहरण गरेर बन्धक बनाइयो। यस क्रममा उनीहरुलाई याैन दासी बन्न बाध्य गराइएकाे थियाे।
हत्या गर्नुपर्नेकाे सूची रेडियाेबाट प्रसारण
रुवान्डामा निकै नै नियन्त्रित समाज रहिआएकाे छ। जिल्लादेखि सरकारसम्म नै। त्याे समयकाे पार्टी 'एमआरएनडी' काे युवा संगठन थियाे- इन्तेराहाम्वे, जो लडाकु संगठनमा स्थानान्तरण हुनपुग्याे। यही संगठनकाे बलमै नरसंहारलाई पूर्णता दिइएकाे थियाे।
स्थानीय समूहलाई हतियार र मारिनुपर्ने व्यक्तिकाे सूची पठाइयाे, जसलाई थाहा थियाे कि ती व्यक्तिहरु कहाँ भेटिन्छन्।
नरसंहारमा हाेमिएकाे हुतु समुदायले हत्याकाे शृंखलामा सहयाेग पुगाेस् भनि एक रेडियो स्टेसन स्थापना गर्याे। 'आरटिएलएम' नाम दिएकाे साे रेडियाे र एक पत्रिकाले तुत्सी समुदायप्रति घृणा फैलाउने काम गरे।रेडियाे र पत्रिकमा खुलारुपमा आह्वान गरियाे- 'सांग्लाहरुलाई हटाउ' अर्थात् 'तुत्सी मानिसलाई मार'।

जाे-जाे प्रमुख व्यक्तिकाे हत्या गर्नुपर्ने थियाे, त्यस्ता व्यक्तिकाे नाम रेडियोबाट प्रशारण गरियाे। यहाँसम्म कि पादरीहरुकाे समेत हत्या हुने सुचीमा नाम आयाे।
एक सय दिनकाे याे नरसंहारमा लगभग ८ लाख तुत्सी और उदारवादी हुतु जनता मारिए।
के कसैले राेक्ने काेसिस गर्याे?
रुवान्डामा संयुक्त राष्ट्र संघ र वेल्जियमका सेनाहरु थिए। तर, उनीहरुलाई हत्या रोक्ने अनुमति दिइएन। सोमालियामा अमेरिकी सेनाको हत्या भएको एक वर्षपछि उसले अफ्रिकी विवादमा आफु नपर्ने घोषणा गरेको थियो।
आफ्ना १० सैनिकको मृत्यु भएपछि बेल्जियम र राष्ट्रसंघले पनि आफ्ना शान्ति सैनिक फिर्ता बोलाएका थिए।
हुतु सरकारको सहयोगी राष्ट्र फ्रान्सले पनि आफ्ना नागरिकलाई द्वन्द्वग्रस्त इलाकाबाट बाहिर निकाल्न एक विशेष सैन्य दस्ता परिचालन गर्याे। यसरी निकालिएका आफ्ना नागरिकलाई सुरक्षित इलाकामा राख्ने काम गरियाे तर, फ्रान्सले पनि हत्या रोक्न केही प्रयास गरेन।
रुवान्डाका वर्तमान राष्ट्रपति पल कागामेले फ्रान्समाथि नरसंहारकाे समर्थन गरेकाे आरोप लगाए। तर, पेरिसले भने यो कुरालाई अस्वीकार गर्दै आएको छ।
'सत्ता कब्जापछि पनि हजारौं नागरिकको हत्या'
युगान्डाको सेना समर्थित आरपिएफले क्रमैसँग अधिक इलाकामा कब्जा गर्दै गयो। ४ जुलाई १९९४ मा लडाकुहरु राजधानी किगालमा प्रवेश गरेका थिए।

बदलाको कारबाही हुने डरले २० लाख हुतु समुदायका मानिसहरु छिमेकी देश गणतान्त्रिक मुलुक कांगोमा पलायन भएका थिए। यसरी पलायन हुने अधिकांश हत्यामा संलग्न र आम जनता रहेको बताइन्छ। केही मानिस ताञ्जानिया र बुरुन्डीसमेत पलायन हुन पुगेका थिए।
मानवअधिकारवादी संस्थाहरुको भनाइ छ- सत्ता कब्जा गरेपछि आरपिएफले हजारौं हुतु नागरिकहरुको हत्या गरेका थिए।
यही नरसंहारका कारण कंगोमा हजारौं मानिसकाे हैजाका कारण मृत्यु भएकाे थियाे। आरोप यस्तो पनि लाग्यो कि सहयोगी व्यक्ति र संस्थाहरुले अधिकांश सहायता हुतु लडाकुहरुलाई गरे।
कंगाे हुँदै ६ देशमा द्वन्द्व फैलियो, ५० लाख मारिए
रुवान्डामा तत्कालीन समयमा आरपिएफकाे सरकार थियाे। सरकार समर्थित सेनाकाे भिडन्त कंगोका सेना र हुतु लडाकुसँग भयाे।
विद्रोही समूहले कंगोकाे राजधानी किन्सासातर्फ आफ्नाे कारबाही साेझ्याएपछि यसमा रुवान्डाले समर्थन जनायाे।
यही विद्राेहले मोबुतु सेसे सेकोकाे सरकार गिर्याे र सत्तामा आए लरेट कबीला। तर, नयाँ राष्ट्रपति हुतु लडाकुलाई नियन्त्रण गर्नतर्फ उदासिन रहे। यहि कारण जुन युद्ध सुरु भयाे, जाे ६ देशमा फैलियाे। यसबाट ६ देशमै साना-साना लडाकु समूहकाे जन्म भयाे। यस्ता समूहहरु खनिज सम्पन्न देशका अलग-अलग क्षेत्रमा कब्जा जमाउन लामाे समय संघर्षमा रहे।

यस द्वन्द्वका कारण करिब ५० लाख मानिस मारिए। अन्तत: सन् २००३ मा द्वन्द्व अन्त्य भयाे। केही हतियारधारी समूहहरु भने अझैपनि रुवान्डाका सीमा क्षेत्रहरुमा क्रियाशील रहेका छन्।
९३ जना दाेषी ठहर, सामाजिक अदालतमा १२ लाख मुद्दा
रुवान्डा नरसंहारको धेरै वर्षपछि सन् २००२ मा एक अन्तर्राष्ट्रिय अपराध अदालतको गठन भयो। तर पनि उक्त अदालतले हत्यामा संलग्नहरुलाई दोषी ठहर गरी सजाय सुनाउन सकेन।
यसकारण संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले तञ्जानियामा एक अन्तर्राष्ट्रिय न्यायाधीकरण खडा गर्याे। यसले कूल ९३ जनालाई दोषी ठहर गर्याे। पूर्व सरकारका दर्जनौं अधिकारीहरुलाई सजाय हुने फैसलासमेत यस न्यायाधीकरणले गरेकाे थियाे।

रुवान्डामा सामाजिक अदालत बनाइयो, जसको कारण थियो- नरसंहारमा संलग्नहरु विरुद्ध मुद्दा चलाउन सकियोस्। प्रतिवेदनअनुसार मुद्दा दायर गर्नुअघि नै जेलमै १० हजार जनाकाे मृत्यु भएको थियो। एक दशकसम्म याे अदालत सक्रिय रह्याे।
हरेक साता हुने सुनुवाइ प्राय:जसाे बजार या कुनै चाैतारीमा गरिन्थ्याे। सामाजिक अदालतसामू हल गर्न १२ लाख मुद्दाहरु दर्ता भएका थिए।
नरसंहार रुवान्डामा अझै पनि संवेदनशील मुद्दा
अन्तरिक द्वन्द्वकाे चपेटामा परेकाे रुवान्डालाई हालकाे अवस्थामा ल्याउने काममा राष्ट्रपति पल कागामेकाे याेगदानलाई उच्च मानिन्छ। जसले अवलम्वन गरेकाे नीतिका कारण रुवान्डा हाल उच्च आर्थिक उन्नतिकाे दिशामा छ।

उनले रुवान्डालाई प्रविधिकाे केन्द्र बनाउने प्रयास गरेका थिए। उनी आफैं लामाे समय ट्विटरमा सक्रिय रहन्थे। तर, आलोचक भन्छन्- कागामे आफ्ना विराेधीलाई स्वीकार गर्दैनथे र यस्ता धेरै आलाेचक तथा विराेधीकाे देशमै र विदेशमा पनि रहस्यमयी ढंगबाट मृत्यु भएकाे थियाे।
नरसंहार रुवान्डामा अझै पनि संवेदनशील मुद्दाका रुपमा रहिरहेकाे छ। हाल त्यहाँ जनजातियताकाे बारेमा बोल्नु गैरकानुनी मानिन्छ। सरकारले भने थप रक्तपातकाे अवस्था सिर्जना नहाेस् तथा समाजमा घृणा फैलाउने गतिविधि नहुन् भन्नका लागि यस्ताे व्यवस्था कायम राखिएकाे बताउँदै आएकाे छ।
तर, कतिपयले भने यसबाट असल मेलमिलापमा बाधा पुगेकाे आराेप लगाउँदै आएका छन्।
कागामे हालसम्म ३ पटक रुवान्डाकाे राष्ट्रपति बनिसकेका छन्। उनले सन् २००७ काे चुनावमा ९८ दशमलब ६३ प्रतिशत मत प्राप्त गरेका थिए।
(बिबिसीबाट भावानुवाद : दुर्गा दुलाल)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।