राजविराज– सप्तरीको राजविराज नगरपालिका १२, विषहरियाका १७ वर्षीय युवा अजित यादव फागुनको दोश्रो सातासम्म आफनै गाउँमा विराना थिए। ‘फलानाको छोरो’ भनेर चिनिनु पर्थ्यो, ‘अजित’ भनेर चिन्ने कमै थिए।
अहिले अवस्था फेरिएको छ। हङकङमा सम्पन्न तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण जितेपछि उनलाई नचिन्ने सायदै होलान्। २२ दिन अघिसम्म गाउँमै अपरिचित अजित देशमा मात्र होईन, परदेशमा पनि चर्चामा छन्। उनको परिचय फेरिएको छ, बुबा नामबाट चिनिदै आएका उनी अजितबाट ‘एथलेटिक्सको स्वर्ण पदक विजेता’ भनेर चिनिन थालेका छन्।
उनको पौरख यतिमा मात्रै सिमित छैन, हिजोसम्म सशस्त्र प्रहरीमा कार्यरत पवनकुमार भनेर चिनिने उनको परिवार अजितकै नामले चिनिन थालेको छ। हङकङमा सम्पन्न तीन हजार मिटरको दौडमा ऐतिहासिक स्वर्ण पदक हात पारेपछि अजितको अवस्था र परिवेश नै फेरिएको छ। गत चैत ३ गते भारत र जापानका धावकलाई पछि पार्दै उनले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरेका थिए। एसियाली स्तरमा एथ्लेटिकसमा नेपालको यो पहिलो स्वर्ण पदक थियो।
स्वर्ण नै आउला भन्ने विश्वास थिएन
गृह जिल्लामै रहेका अजितलाई यतिबेला सम्मान र बधाई थाप्न भ्याइ–नभ्याइ छ। आफनो सफलताले उनी आफै पनि दंग छन् । ‘पदक पाउने त पक्का थियो, स्वर्ण नै आउला भन्ने विश्वास थिएन’ उनी भन्छन्–‘झोलामा नेपालको झण्डा बोकेरै गएको थिएँ । स्वर्ण पदक जित्नु र विरानो देशमा नेपालको झण्डा फहराउन पाउनु मेरा लागि गर्वको विषय हो ।’
स्वर्ण पदक जितेपछि आफुलाई सगरमाथा चढेभन्दा बढि खुसी लागेको उनले बताए। ‘मैले नेपालको नेतृत्व गरिरहेको थिएँ। आफु गौण भएको अनुभुति भयो, ‘अजित’ भन्दा पनि ‘नेपाल’ भन्दा आफुलाई गर्व महसुस भइरहेको थियो । छाति सगरमाथा भन्दा चौडा भएको महँसुस गरिरहेको थिए’ उनी थप्छन्, ‘मैले देखेका र यस्तै होला भनेर कल्पना गरेका सबै ठाउँ एकाएक दिमागमा आए । हिमाल, पहाड, तराई सबै आँखा अगाडि घुम्न थाल्यो। त्यो क्षण सम्झदा अहिले पनि छाति ढक्क फुलेर आउँछ।’
आफुले जितेँ भन्दा पनि आफनो नामसँग देशको नाम जोडिएकोमा भित्रैदेखि उकुस–मुकुस हुने गरेको उनी बताउँछन् । आफनो खुसी मापन गर्नै नसकेका यादव भन्छन्–‘एक प्रकारको अर्कै फिलिङस थियो, जुन शब्दमा वर्णन गर्न सक्दिन।’
फुटबलर बन्न चाहन्थे, एथ्लेटिक्समा चम्किए
सवैका आ–आफनै चहाना हुन्छन्, तर सबैका चहाना पूरा हुँदैनन्। सानैदेखि फुटबलमा रुचि राख्ने अजित फुटबल खेलेरै देशमा नाम कमाउन चाहान्थे। ‘कक्षा ७ सम्म फुटबल खेलें । तर त्यो क्षेत्रमा खासै प्रगती गर्न सकिँन’ उनले भने–‘स्कुलमा हुने प्रतियोगितामा प्रथम र दोश्रो हुन थालेपछि एथ्लेटिक्सतर्फ लागें।’
एथ्लेटिक्समा लागेपछि धेरै पदक जिते। राष्ट्रिय स्तरका धेरै प्रतियोगितामा उनले सहभागिता जनाएका छन्। तर, अन्तर्राष्ट्रिय स्तरमा सहभागि भएको पहिलो प्रतियोगिता मै उनले स्वर्ण जितेर देशको गौरव बढाए। ‘राष्ट्रिय स्तरका प्रतियोगितामा तेश्रो हुनु परेको छैन भन्दा हुन्छ। दोश्रो भएका केहि बाहेक अधिकांशमा प्रथम भएको छु’ उनले थपे–‘पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएर स्वर्ण पदक जित्नु मेरा लागि पनि कम चुनौतिको विषय थिएन।’
अजितलाई डाक्टर बनाउन चाहान्थ्यो परिवार
एकाएक खेल क्षेत्रमा चम्किएका अजित मध्यम वर्गीय परिवारमा जन्मिएका हुन। बुबा, आमा र दाजु सुजितसहित उनको ४ जनाको परिवार छ। बुबा पवनकुमार सशस्त्र प्रहरीमा असई छन्। हाल सुनसरीको ४ नम्बर गेटमा कार्यरत पवन दुवै छोरालाई राम्रो शिक्षा दिन चाहन्थे । कान्छो छोरा भएकाले विशेष गरी अजितलाई डाक्टर वनाउने उनको सोच थियो
सोहि कारण सानै उमेरमा अजितलाई कीर्तिपुरस्थित एपीएफ स्कुलमा भर्ना गरियो। माद्यमिक तहको पढाई अजितले एपिएफ स्कुलबाटै सके। तर, उनको लगाव खेल क्षेत्रमा देखेपछि पवन कुमार चिन्तित थिए । ‘खेलेर पनि जीवन चल्छ ? भन्ने मानसिक्ता अहिले पनि छ’ अजित भन्छन्, ‘खेल्नु भनेको छोराछोरी बिग्रिनु हो भन्ने बुझेकाले चिन्ता गर्नु स्वभाविक पनि थियो।'
यो पनि : एसियाली युथ एथलेटिक्समा अजितले जिते ऐतिहासिक स्वर्ण
अहिले भने पवनकुमार खुसी छन् । ‘जनताको सेवा र परिवार खुसी राखोस् भन्ने चाहाना थियो’ उनी भन्छन्–‘छोराले देशकै नाम चम्कायो, ठीकै गरेको रहेछ ।’ स्वर्ण पदक जितेको सुनेपछि अजितको बुबा भएकोमा गर्व महसुस भएको उनले बताए।
खेल क्षेत्रमा सुधार आवश्यक
खेल क्षेत्रमा प्रसस्त सम्भावना भएपछि भविष्यको ग्यारेण्टी नहुँदा उम्दा खेलाडीहरु पलायन हुने गरेको उनी बताउँछन्। ‘परिवार चलाउने त कुरै छोडौं, खेलकुदमै लागेर व्यक्तिगत जीवन चलाउन पनि अधिकांशलाई मुस्किल छ’ उनले भने–‘प्रतिभा पहिचान गर्ने, अवसर दिने र उसको भविष्य सुनिश्चित गर्ने नीतिगत ब्यवस्था अझै हुन सकेको छैन ।’
धेरै जिल्लामा अहिले पनि अभ्यासका लागि स्थान अभाव हुँदा खेलाडीले प्रतिभा निखार्ने मौका नपाएको उनी बताउँछन्। ‘धेरै जिल्लामा अहिले पनि १/१ घण्टा पैदल हिडेर अभ्यास गर्नुपर्ने बाध्यता छ’ उनले थपे–‘ राजधानीमै पनि अन्तर्राष्ट्रिय स्तरको खेलकुद मैदान छैन। यसतर्फ सरकारले नै पहल गर्नुपर्ने आवब्यक्ता छ।’
पहुँचभन्दा टाढा रहेका प्रतिभालाई खोज गर्नसके नेपालले खेलकुदका क्षेत्रमा अझै प्रगति गर्न सक्ने उनको बुझाई छ । ‘म राजधानीमै भएकाले अवसर पाएँ, गाउँमा मभन्दा पनि राम्रा खेलाडी होलान । उनीहरुलाई खोजेर अवसर कस्ले दिने?', उनको प्रश्न छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।