काठमाडौं- काठमाडौं उपत्यकालाई जोड्ने प्रमुख ‘लाइफ लाइन’ हो नागढुंगा-मुग्लिन-नारायणगढ सडक। यो सडकखण्ड अन्तर्गत पर्ने बांगेमोडमा कात्तिक ११ गते ३१ जनाको ज्यान जानेगरी बस दुर्घटना भएको थियो।
बांगेमोडलाई सरकारको एक उच्चस्तरीय समितिले जोखिमयुक्त स्थानका रुपमा राख्दै सुरक्षाको आवश्यक व्यवस्था मिलाउन एक वर्षअघि नै सुझाव दिएको थियो। तर, उक्त सुझाव सरकारको दराजमा थन्किँदा बांगेमोडलाई दुर्घटनाको जोखिममुक्त सडक बनाउने काम भएन। फलस्वरुप ११ कात्तिकमा ठूलो दुर्घटना हुन पुग्यो।
सोही सडकखण्डमा पूर्वगृहमन्त्री माधव घिमिरेसहित परिवारका सदस्यले गत वर्ष ज्यान गुमाउनुपर्यो। सो दुर्घटनापछि सरकारले उक्त सडकखण्डमा हुने दुर्घटनाको कारण र त्यसको समाधानको उपाय सुझाउन पूर्व प्रहरी महानिरीक्षक कुबेरसिंह राणाको संयोजकत्वमा उच्तस्तरीय समिति बनाएको थियो। समितिले एक महिनाको समय लगाएर १८२ पृष्ठ लामो प्रतिवेदन तयार पारेको थियो।
समितिले बांगेमोडसहित नौबिसेदेखि मुग्लिनसम्मको ८३ दशमलव ३ किलोमिटर लामो सडक खण्डमा दुर्घटनाका हिसाबले ३१ वटा जोखिमयुक्त स्थान (ब्ल्याक स्पट) को पहिचान गरेको थियो। समितिले ती स्थान जोखिमयुक्त हुनुको कारण पहिल्याउँदै आवश्यक सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई सुझाव पनि दिएको छ। तर, आजसम्म ३१ मध्ये कुनै पनि स्थानलाई सुरक्षित बनाउने काम भएको छैन।
प्रतिवेदन अनुसार उक्त सडकखण्डमा वार्षिक १२५ भन्दा बढी सानाठूला सवारी दुर्घटना हुने गरेको छ। र, ती दुर्घटनामा बर्सेनि १२० भन्दा बढी मानिसको मृत्यु हुने गरेको प्रतिवेदनमा उल्लेख छ।
भौतिक तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसीप्रसाद सिटौला ठूलो खर्च गरी तयार पारिएका अध्ययन प्रतिवेदनलाई कार्यान्वयन नगरी दराजमा नै थन्कयाउने परिपाटीका कारण दुर्घटनाको दरमा कमी आउन नसकेको बताउँछन्। 'समितिले दिएका सुझाव हुबहु कार्यान्वयना ल्याइएको भए यति धेरै दुर्घटना हुने थिएनन्। सबैभन्दा पहिला सडकमा रहेको सिन्डिकेटको अन्त्य र व्यावसायिक लाइसेन्स दिने व्यवस्था कार्यान्वयनमा आए आधाभन्दा बढी समस्या समाधन हुनेछ,' उनको सुझाव छ। चालकहरुलाई व्यावसायिक लाइसेन्स दिने र गल्तीका आधारमा लाइसेन्स खारेज गर्ने व्यवस्था नगरेसम्म सुधार आउन नसक्ने बताउँछन् उनी।
दैनिक ५ हजार ५ सयदेखि ६ हजार ५ सय सवारी गुड्ने उक्त सडकमा सडकको बनोट, सवारी चालक, पैदलयात्री, अनधिकृत बस्ती, तीव्र गति, यान्त्रिक गडबडी लगायतका कारणले दुर्घटना हुँदै आइरहेको छ। साँघुरा र इन्जिनियरिङ नमिलेका सडकमा चालकले मनपरी सवारी हाँक्दा पनि दुर्घटना धेरै भएको प्रतिवेदनमा उल्लेख छ।
नौबिसे-मुग्लिनका ३१ जोखिमयुक्त स्थान
पिपलमोड, कानकोट, टायल घर, सुगम मोड, धार्के चालिसे, चर्किला, भट्टबाजे मोड, धार्के–४ सातकिला, भूमिस्थान मछेडी खोला, चिरौंदी पुल, खोस्टे खोला, खयरघारी, छहरा, जहरे, बांगेमोड, बेनिघाट–८ झिल्केडाँडा, गोमती खोला, बाँदरे मोड, मालिंगा डाँडा, धुसा–१ चरौंदी, मलेखु हिलटप मोड, मौवाखोला, हुम्दी खोला, खटौती पुल, कृष्णभीर, घाटबेसी, गलौंदी पुल, सोती पुल, हुग्दी खोला पुल, घोप्टेभीर र नाग्दी खोला पुल दुर्घटनाका हिसाबले जोखियुक्त रहेको प्रतिवेदनमा उल्लेख छ।
खयरघारी
नौबिसेबाट १७ किलोमिटर दुरीमा रहेको खयरघारी तिखो मोडका कारण सुरक्षित दृष्टिगत दुरी नहुनाका कारण एक जोखिमपूर्ण बिन्दुका रुपमा रहेको छ। जसका कारण यस स्थानमा पटकपटक सवारी दुर्घटनाहरु घट्न गएका तथ्य अभिलेखहरुमा रहेका छन्।
घाटबेँसी
नौबिसेबाट ३४ किलोमिटर दुरीमा रहेको घाटबेँसी पनि अर्को जोखिमपूर्ण बिन्दु हो । यस स्थानमा सडक साँघुरो हुनुका साथै घुम्ती पनि पर्याप्त सुरक्षित दृष्टिगत दुरी नभएको प्रकृतिको रहेको छ।
गलौंदी पुल
नौबिसेबाट ३६ दशमलव ५ किलोमिटर दुरीमा अवस्थित गलौंदी पुललाई साँघुरो तथा बढी दुर्घटना हुने जोखिमपूर्ण पुलका रुपमा पहिचान गरिएको छ। पुलको दुवैपट्टि जोडिने सडकहरु पुनर्स्थापनाका क्रममा विस्तार भई ७ मिटरको हुन गएकोमा पुलको भित्री चौडाइ केवल ५ दशमलव ५ मिटर मात्र रही दोहोरो सवारीसाधन पास हुन नसक्नुका कारण सवारी दुर्घटना हुने गरेको छ। विशेषगरी जाडो समयमा सडकमा जम्ने शीत र कम भिजिबिलिटीका कारण सवारीसाधन चिप्लेर पल्टने गरेका छन्।
सोती पुल
नौबिसेबाट ३८ दशमलव ५ किलोमिटर दुरीमा रहेकोसोती पुल साँघुरो र अधिक भिरालो छ। फुटपाथ समेत नभएको उक्त पुलमा दुर्घटना भई रेलिङहरु भाँचिई सडकबाट सवारी तल खस्ने गरेका छन्।
चालिसे
नौबिसेबाट ३९ दशमलव ९ किलोमिटर दुरीमा रहेको चालिसेमा निकै साँघुरो कल्भर्ट छ। सो कल्भर्ट साँघुरो हुनुका साथै रेलिङ र क्र्यास ब्यारियर जस्ता सुरक्षा प्रबन्ध छैन। सडकभन्दा साँघुरो भएका कारण दुर्घटना हुने गरेको छ।
हुग्दी खोला पुल
नौबिसेबाट ६२ दशमलव ५ किलोमिटर दुरीस्थित यो पुल साँघुरो तथा ९० डिग्री कोणमा रहेको घुम्तीका कारण निकै जोखिमपूर्ण छ। यस स्थानमा पटक पटक सवारी साधनहरु पुलबाट खसेका छन्।
घोप्टेभीर
नौबिसेबाट ७९ किलोमिटर दुरीमा रहेको यो स्थान निकै जोखिमपूर्ण क्षेत्र हो। गत वर्ष पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार गाडी यहीँ दुर्घटना भएको हो। यो सडकको एकातिर पहरा र अर्कोतर्फ त्रिशूली नदी छ। अंग्रेजी अक्षरको एस कर्भमा रहेको सडकमा पटक पटक ठूला दुर्घटना भएका छन्।
नाग्दी खोला पुल
नौबिसेबाट ८० दशमलव ७ किलोमिटर दुरीमा रहेको यो पुन निकै सँघुरो र कमजोर रेलिङयुक्त छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।