विराटनगर– बाढीले जोगवनी नाका ठप्प हुँदा भारतले लागु गरेको जिएसटी कर प्रणालीमा पर्ने समानको अबैध पैठारी बढेको छ। मोरङ प्रहरीले तीन दिनयता ठूलो परिमाणमा भन्सार छलिएको समान बरामद गरेको छ।
चाडपर्वको बेला समानको अबैध आयात–निर्यात बढ्ने भएकाले त्यसलाई रोक्न यहाँका उद्योगी–व्यवसायीले प्रहरी–प्रशासनसँग केही दिनमात्र हारगुहार गरेका थिए। लगत्तै प्रहरीले तस्करीका समान धमाधम पक्राउ गर्न सुरु गरेको हो। जोगवनी नाकामै रहेको सीमा इलाका प्रहरी कार्यालय, रानीले ट्रक र ट्याक्टर मै लोड गरेर तस्करी गरिएको करिव ६० लाख मुल्य वरावरको समान सोमवार राती नियन्त्रणमा लिएको छ। साइकल, पैदल, झोलेपोके र हलुका सवारी प्रयोग गरेर जोगवनी नाकाबाट समानको तस्करी बढेको हो।
‘ट्रक र ट्याक्टर मै लोड गरेर तस्करीको समान छिराउनु ठूलै साहस र संकेतले काम गरेको देखिन्छ,’ मोरङका एक उद्योगपतिले भने, ‘यति ठूलो रिस्क एक्लै कारोवारीले लिन सक्दैन।’
विराटनगर–१५ स्थित रामजानकी मन्दिर नजिकै भारतबाट नेपालतर्फ आउँदै गरेको को१ख ४०१० नम्बरको ट्रक र भारतीय नम्बर बिआर ३८ इ ४६४० नम्बरको ट्याक्टर समानसहित प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त ट्रक र ट्याक्टरमा लोड भएका समानमा अन्दाजी ६० लाख मुल्य बराबरको कस्मेटिक सामान, सिलाइका सामान र जुत्ता रहेको प्रहरीले जनाएको छ।
ट्रक चालक मोरङ, ग्रामथान गाउँपालिका–७ बस्ने ३० बर्षिय शशि चौधरी र ट्याक्टर चालक भारत जोगवनी ग्रामपञ्चायत–१० बस्ने २४ वर्षीय सुनिल शर्मालाई प्रहरीले समानसहित नियन्त्रणमा लिएको छ। बरामद सामान क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइसकिएको प्रहरीले जानकारी दियो। तर, यति ठूलो परिमाणमा बरामद भएको अबैध समान कसको हो खुलाउन चाहेन।
मोरङ प्रहरीले आइतबार र सोमबार मात्रै १८ लाख बढीको भन्सार छलीको सामान बरामद गरेको थियो। इलाका प्रहरी कार्यालय, रंगेलीका टोलीले आइतबार सुनबर्षी नगरपालिका–२ स्थित अमरदह–पथरी सडकखण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा मे १ त ४३०५ नम्बरको पिकअपबाट अन्दाजी १७ लाख बढीको रेडिमेट कपडा बरामद गरेको थियो।
भारतबाट भन्सार छलेको बस्नेत सप्लायर्स विराटनगरको नाममा नक्कली बिल बनाई लैजादै गरेको उक्त कपडामा विभिन्न ब्राण्डका थानका कपडा, सर्टिङ सुर्टिङका कपडा छन्। इलाका प्रहरी कार्यालय रानीले सोमबार १ लाख १८ हजार ५ सय ९० रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार बुझाएको छ। बरामद सामानमा लताकपडा तथा खाध्यान्नको सामान छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।