रोल्पा– दुई वर्षअघि घरबाट निस्किएका बुबा श्यामबहादुर अझै घर फर्केका छैनन्। गत साउनमा आमाले समेत घर छोडेर हिँडिन्। १४ वर्षीय दाजु उत्तम त छन्, तर उनी पनि घरमा छैनन्। गाउँकै साहुको ट्याक्टरमा सहयोगी काम गर्ने उनी कहिलेकाहीँ मात्र घर आउँछन्। फेरि आफ्नै ड्युटीमा गइहाल्छन्।
आमा-बुवा र दाइसमेत घरमा नहुँदा ७ वर्षीय उज्ज्वल पुन यतिबेला बेसहारा छन्। न दाइको माया न त बुवाआमाको वात्सल्य।
सुनिल स्मृति गाउँपालिका-२ खुंग्रीका उनी त्यहीँकै स्कुलमा दुई कक्षामा पढ्छन्। तर, पढाइ नै यतिबेला डामाडोल बनेको छ।
काठमाडौंको इँटाभट्टामा काम गर्न हिँडेका बुवाले उतै अर्को विवाह गरेको थाहा पाएपछि उज्ज्वलकी आमाले पनि गत साउनदेखि घर छाडेर गइन्। उनले समेत अर्को विवाह गरेपछि उज्ज्वल कलिलै उमेरमा अभिभावकविहीन बन्न पुगे।
लामो समय मर्मत नगरेका कारण फुसको छानो भएको घर समेत भत्केर खण्डहरझैं देखिन्छ। तै आमाबुबा फर्केर आउँछन् कि भन्ने आशा उज्ज्वलमा अझै जीवित छ। उनका आँखा प्रतीक्षाको बाटो कुरिरहन्छन्।
भत्किएको घरमा कैयौं रात एक्लै काटेका उज्ज्वल केही समयपछि निकै विरक्तिए र गाउँभर भौंतारिदै हिँड्न थाले। घरमा खाने कुरा नभएपछि मागेरै पेट पाल्न बाध्य भए। बाँच्नका लागि माग्नुको विकल्प उनीसँग थिएन। कतिपयले दयाले खानेकुरा दिन्थे। तर, सबैको मन कहाँ एउटै हुन्छ र! कतिपय छिमेकी नै 'मगन्ते' भन्दै हेला गर्थे।
'सेभ द चिल्ड्रेन'ले उपलब्ध गराएको विद्यालय पोसाकबाटै हिउँदको कठ्यांग्रिने जाडो कटाएका उनीसँग फेर्ने अर्को कपडासमेत छैन।
उनको बेहाल अवस्था देखेर गाउँका सामाजिक अगुवाहरुले अहिले भने बुवाको फुपू नाता पर्ने ७० वर्षीया वृद्धासँगै बस्ने व्यवस्था गरिदिएका छन्। 'उनको नजिकको नातेदार खोज्दै जाने क्रममा ती वृद्धाको संरक्षणमा जिम्मा लगाइदिएका हौं,' स्थानीय समाजसेवी गेहराज घर्तीले भने। तर, वृद्धासमेत अर्काको जग्गामा छाप्रो बनाएर बसेकी छन्। उनले पनि सामाजिक सुरक्षा भत्तावाट जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ।
बालकको पुनर्स्थापनाका लागि गाउँपालिका र वडा कार्यालयसम्म अगुवाहरुले विभिन्न निकायमा निवेदन दिएका छन्। सुनिल स्मृति गाउँपालिकाले उनको राहतका लागि ५ हजार उपलब्ध गराउने निर्णय गरेको बताइएको छ। सोही गाउँपालिका २ का वडाध्यक्ष नेत्र गिरी र वडा सदस्य पुनम सिंहले एकएक बोरा चामल उपलब्ध गराएको समाजसेवी घर्तीले जानकारी दिए। 'दुई बोरा चामलले केही दिनको समस्या त हल होला,' उनी भन्छन्, 'बालक र ती वृद्धाको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने अवस्था छ।'
पढ्नका लागि कापीकलम, झोला र विद्यालय पोसाक किन्ने पैसा नहुँदा उज्ज्वलको पढाइ रोकिएको छ।
बुवा-आमाको बेवास्ताले यो अवस्था आइलागेको बताउँछन्, अधिकारकर्मी तीर्था आचार्य। 'कष्टपूर्ण जीवन जिउँदै आएका उज्ज्वलको बालअधिकार रक्षा गर्दै खाने, बस्ने र पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न जरुरी छ,' उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।