दुबई : प्रविधि कम्पनीहरू स्काई ट्याक्सी वा एयर क्याब निर्माण गर्ने होडबाजी गरिरहेका बेला युएईको व्यापारिक सहर दुबईले ‘ड्रोन वा हवाई ट्याक्सी’ उडाउन विश्वका सबै सहरलाई उछिन्ने भएको छ । दुबईले यस वर्ष ब्याट्रीबाट चल्ने यस्ता स्काई ट्याक्सीको परीक्षण उडान गर्ने भएको छ।
गत जुनमा दुबईको सडक तथा यातायात प्राधिकरण (आरटिए)ले जर्मन स्टार्टअप कम्पनी भोलोकप्टरसँग यस वर्षको अन्त्यसम्ममा त्यहाँ हवाई ट्याक्सीको परीक्षण गर्ने सम्झौता गरेको थियो।
दुई जना यात्रु बोक्नेसक्ने यस्ता हवाई ट्याक्सी निर्माण गर्न जर्मन मोटर कम्पनी डेमलरले भोलोकप्टरलाई ३ करोड अमेरिकी डलर (३ अर्ब रुपैयाँ) भन्दा बढी लगानी गरिसकेको छ।
एउटा प्रमोसनल भिडियोमा यो ट्याक्सीको सर्वाधिक गति सय किलोमिटर प्रतिघन्टा सम्म हुने र ३० मिनेटसम्म उड्न सक्ने दाबी गरिएको छ।
ट्याक्सीमा सुरक्षाका लागि ९ वटा ब्याट्री जडान गरिएको छ । भोलोकप्टरले आफ्नो ट्याक्सीबाट यात्रा गर्दा यात्रुलाई प्यारासुट आवश्यक नपर्ने दाबी गरेको छ।
दुबईले एक जना यात्रु बोक्ने स्वचालित स्काई ट्याक्सी निर्माता चिनियाँ कम्पनी एहाङसँग पनि ट्याक्सीका लागि सम्झौता गरेको छ।
हवाई ट्याक्सी उडाउने पहिलो सहर बन्न दुबईले विश्वका अन्य सहरसँग होडबाजी गर्नुपर्ने स्थिति देखिएको छ । विश्वभरका सहरले भविष्यको यातायातका रुपमा हवाई ट्याक्सी सञ्चालनका लागि अहिलेदेखि नै प्रयास गर्न थालिसकेका छन्।
ट्याक्सी सेवा प्रदायक कम्पनीमध्ये एउटा उबेरले गत फेब्रुअरीमा अमेरिकी अन्तरिक्ष संस्था नासाका प्रमुख प्राविधिक विशेषज्ञ मार्क मुरलाई हवाई ट्याक्सीसम्बन्धी आफ्नो ‘प्रोजेक्ट एलिभेट’का लागि कम्पनीमा भित्र्याएको थियो । यो प्रोजेक्ट भविष्यको हवाई यातायात विकास गर्न केन्द्रीत छ।
फ्रान्सको हवाईजहाज निर्माता कम्पनी एयरबसले पनि एयर ट्याक्सी ‘वाहना’ विकास गर्न लागिपरेको छ । कम्पनीले पनि यसै वर्ष हवाई ट्याक्सी परीक्षण गर्ने र सन् २०२० सम्ममा निर्माण गरिसक्ने जनाएको छ।
स्थल यातायातमा ट्राफिक जामको समस्या बढेपछि अहिले विश्वभर नै विभिन्न कम्पनीहरू हवाई ट्याक्सी विकासमा निकै काम गरिरहेका छन्।
विश्वको १० औं ठूलो र धनी सहर ब्राजिली सहर साओ पाउलोमा प्रत्येक शुक्रबार करिब १ सय ८० किलोमिटर लामो ट्राफिक जाम हुन्छ । कहिलेकाहीं त यो जाम २ सय ९५ किलोमिटरसम्म पनि पुग्छ। यस्तोमा हवाई ट्याक्सीले साओ पाउलोमा यात्रुलाई राहत दिनेछ।
एहाङमा एक जना, भोलोकोप्टरमा दुई जनाले यात्रा गर्न सक्नेछन् । एयरबसले भने आफ्नो हवाई ट्याक्सी सिटी एयरबसमा चार जनाले यात्रा गर्न सक्ने गरी निर्माण गर्न विचार गरिरहेको छ।
सबैभन्दा रोचक कुरा यी सबै कम्पनीहरू प्रदूषणरहीत र ध्वनी प्रदूषण समेत नगर्ने भएकाले ट्याक्सीको विद्युतीय इन्जिन विकासमा जुटेका छन्।
हवाई ट्याक्सीमा हेलिकोप्टरको पंखाजस्तै कैयौं ठाउँमा रोटर जडान गरिएको हुन्छ, जसले ट्याक्सी हावामा माथि उठाउने र अवतरण गर्न मुख्य भूमिका निर्वाह गर्छन् । यी ट्याक्सीको आकार सानो भएकाले घना सहरमा पनि सजिलै सञ्चालन गर्न सकिन्छ।
यी ट्याक्सी कार्बन फाइबरबाट निर्मित हुने भएकाले वजन पनि निकै कम हुन्छ।
एहाङ ड्रोन ट्याक्सी अहिले २३ मिनेटसम्म उड्न सक्छ । तर अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले भने कुनै पनि ट्याक्सीमा २० मिनेट उडाउन सकिने गरि अतिरिक्त इन्धन हुनु पर्ने प्रावधान राखेको छ।
उबेरका मुरले ट्याक्सीको ब्याट्रीमा सुधार हुनासाथ इन्धनको समस्या सल्टिने बताए । उबेरले सन् २०२३ सम्ममा ५० वटा हवाई ट्याक्सी निर्माण गरी सञ्चालन गर्ने योजना बनाएको छ।
दुबईको मौसम खराब हुने गरेकाले विमान विशेषज्ञले चेतावनी दिइरहँदा पनि दुबईले सन् २०३० सम्म त्यहाँको २५ प्रतिशत यातायात स्वचालित बनाउने योजना बनाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।