काठमाडौँ- स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि मनोनय गर्न एक दिन मात्रै बाँकी रहँदा सत्तारुढ दलले उम्मेदवारको सूची सार्वजनिक गर्न सकेका छैनन्।
तालमेलको टुंगो नलाग्दा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार सार्वजनिक गर्न नसकेका हुन्। सत्तारुढ दललाई कुरेको एमालेले उम्मेदवारको नामावली आजै सार्वजनिक गर्ने भएको छ।
कांग्रेस र माओवादी केन्द्रबीच १५ स्थानीय तहमा तालमेल गर्ने किसिमले गृहकार्य भइरहेको छ। ती स्थानमा कसले के पद छोड्ने भन्ने टुंगो लगाउन बाँकी रहेकाले उम्मेदवारको सूची सार्वजनिक गर्न ढिलाइ भएको नेताहरुले जानकारी दिएका छन्।
कांग्रेस नेता केशव रिजालले तालमेल हुने स्थान टुंगो लाग्न बाँकी रहेकाले आजै उम्मेदवारको सूची सार्वजनिक हुन सक्ने सम्भावना नरहेको बताए। 'तालमेल कहाँकहाँ गर्ने र कुन पद छाड्ने भन्ने विषय टुंगो लगाउन हामी गृहकार्य गरिरहेका छौँ,' उनले भने, 'उम्मेदवारी दर्ता गर्नुअघि भोलि अन्तिम नामावली सार्वजनिक गर्छौँ।'
यता माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले पनि तालमेल हुने स्थान टुंगो लगाउनुपर्ने भएकाले उम्मेदवारको सूची आजै सार्वजनिक गर्न नसकिने बताएकी छिन्। 'परिवर्तनका एजेन्डा समर्थन गर्ने सबै शक्तिसँग हाम्रो तालमेल हुन्छ। मुख्य प्राथामिकता सत्ता गठबन्धनबीचको तालमेल हो। स्थान र पदका विषयमा छलफल भइरहेकाले उम्मेदवार भोलि सार्वजनिक गर्छौँ,' उनले भनिन्।
एमालेले भने आजै सूची सार्वजनिक गर्ने भएको छ। दिउँसो तीन बजे पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी एमालेले उम्मेदवारको सूची सार्वजनिक गर्ने भएको हो। 'हामीले उम्मेदवारको सूची तय गरिसकेका छौँ, ३ बजे सार्वजनिक गर्छौँ,' एमाले सचिव योगेश भट्टराईले भने।
एमालेले १ सय ३६ स्थानीय तहकै लागि उम्मेदवार घोषणा गरेको छ। चुनावी तालमेल हुन सक्ने अवस्था आएमा स्थानीय तहमै मिलाइने सचिव भट्टराईले बताए।
यता राष्ट्रिय जनता पार्टीले पनि महानगरपालिकामा बाहेक सबै स्थानमा उम्मेदवारको टुंगो लगाएको छ। वीरगन्ज महानगरपालिकामा मेयर पदमा विमल श्रीवास्तव र विपीन सिंहको नाममा विवाद छ। विवाद समाधान गरी आजै सूची सार्वजनिक गर्ने राजपाको तयारी छ। 'हामीले उम्मेदवार लगभग टुंगो लगाएका छौँ। विवाद समाधान गर्न गृहकार्य भइरकाले आजै उम्मेदवारको नाम सार्वजनिक गर्छौँ,' राजपाका महासचिव केशव झाले भने।
प्रदेश नम्बर २ का ८ जिल्लामा १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन्। ती स्थानीय तहमा असोज २ गते निर्वाचन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।