भैरहवा- प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले परम्परागत शिक्षा प्रणालीले मुलुकमा बेराजगारी सिर्जना गरिरहेको बताएका छन्। १०/१२ कक्षा पढ्दा नै युवाहरुले रोजगारी पाइँदैन, अब विदेश जानुपर्छ भन्ने सोँच बनाउने गरेकाले समेत युवालाई स्वदेशमा नै टिकाउन नसकेको बताए।
उद्योग व्यापार संगठन रुपन्देही तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान प्रादेशिक कार्यालय बुटवलले भैरहवामा सञ्चालित गरेको पाँच दिने एकीकृत व्यवसाय व्यवस्थापन तालिम समापन कार्यक्रममा बोल्दै मन्त्री गिरीले यस्तो बताएका हुन्।
‘युवाहरु विदेश जाने बाटो अपनाउँछन्, त्योबाट अब हामी मुक्त हुनुपर्छ’, उनले भने, 'मुलुक समृद्ध भएको तर व्यवस्थापन गर्न बाँकी छ। हामीले केही नगरिकन जीवन सफल हुँदैन भन्ने भावना नभएसम्म अगाडि बढ्न सकिँदैन।'
‘आफ्नो काममा तल्लिन भएर अगाडि बढ्ने बेला आएको छ, यतिबेला सरकारलको आलोचना गर्ने काम भएको छ, तर प्रदेश सरकारले योजना बनाएर उद्यमशिलतालाई बढाइरहेको छ,' एक चिनियाँ नागरिकले भनेको कुरा स्मरण गर्दै उनले भने,‘नेपालीहरु धेरै सुन फलाउन सक्छन्, तर उनीहरु अन्यत्र भौतारिरहेका छन्, त्यसैले स्वदेशमै नै काम गरे देश अगाडि बढाउनुपर्छ।’
भारतका थुप्रै नागरिकहरु नेपालमा आएर काम गर्ने गरेकोे र ती भारतीयहरुले गर्ने काम नेपालीहरुले यहाँ नगर्ने तर विदेशमा गएर गर्ने गरेको उनले जनाए।
कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देही अध्यक्ष नारायणप्रसाद भण्डारीले पाँच दिनसम्म सञ्चालन भएको तालिमले राम्रो परिणाम दिने अपेक्षा गरिएको बताए।
तालिम संयोजक तथा संगठनका सचिव टिकाराम भट्टराईले संगठनको वार्षिक कार्ययोजना अनुसार आबद्ध व्यवसायलाई व्यवस्थापकीय तालिम दिनुपर्छ भन्ने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको उल्लेख गरे।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष गणेश बेल्बासेले यो क्षेत्र उद्योग र पर्यटनको क्षेत्र भएकोले यस्ता तालिमले उद्योग, पर्यटनको प्रबद्र्धनमा समेत टेवा पुर्याउने बताए।
तालिममा २८ जनाको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।