जनकपुरधाम- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफू निश्चित समयमा नै पार्टी महाधिवेशन गराउने पक्षमा रहेको बताएका छन्। महाधिवेशन नचाहनेहरुले आफू विरुद्ध षडयन्त्रको जालो बुन्न थालेको आरोप समेत लगाए।
जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै महतोले आफूविरुद्ध षड्यन्त्र गर्न विभिन्न शक्ति लागी परेको उल्लेख गरे।
पूर्व स्वकीय सचिव रवीन्द्रकुमार चौधरी (राजेश)ले तलब नदिएको बहानामा विभिन्न आरोप लगाएपछि महतोले त्यसको खण्डन गर्दै महाधिवेशन नचाहनेहरू त्यस्तो षड्यन्त्र गरेको बताएका हुन्।
‘म विरूद्ध भइरहेका षड्यन्त्र हेर्दा मलाई कुनै आश्चर्य लागेको छैन। अहिले मेरो सम्पूर्ण ध्यान र ऊर्जा तोकेकै समयमै पार्टीको महाधिवेशन गराउन लगाएको हुनाले अरू सानोतिनो कुरा र आरोप/प्रत्यारोपमाथि मेरो कुनै खासै चासो छैन,’ उनले भने।
राजपामा बढ्दो सक्रियता र जनप्रभावले आत्तिएर पार्टीभित्र तथा बाहिरका केही शक्तिहरू आफू विरूद्ध लागेको बताउँदै महतोले महाधिवेशनसम्म स–साना कुरामा आफू नअल्झिने प्रतिक्रिया दिए।
यता संसद् सचिवालयले महतोका स्वकीय सचिव रहेका रवीन्द्र चौधरी (राजेश)लाई तीन महिना पहिले नै जिम्मेवारी मुक्त गरी सकेको जानकारी दिएको छ।
उक्त अवधिमा संसद सचिवालयमा जम्मा गरिएको सबै कागजातमा चौधरीकै हस्ताक्षर रहेको कुरा पनि स्पष्ट पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।