काठमाडौं– विवाहभन्दा पहिला कामको गतिलाई निकै सुस्त बनाएकी बिलउड अभिनेतृ दीपिका पादुकोणमाथि विवाहलगत्तै दुई निर्देशकको नजर परेको छ।
केही समयअघि मात्र अभिनेता रणवीर सिंहसँग विवाह गरेकी दीपिकालाई फिल्म खेलाउन बलिउडका दुई दिग्गज निर्देशक करण जौहर र सञ्जय लिला भन्सालीले स्क्रिप्ट समेत तयार पारिरहेका छन्। करण र भन्सालीले दीपिकाकै लागि भनेर फिल्मको स्क्रिप्ट तयार गरिरहेको सञ्चारमाध्यमले जनाएका छन्। करणले आफ्नो फिल्मको कहानीको बारेमा यसअघि नै दीपिकालाई बताएका थिए र उनले पनि मन पराएकी थिइन्। ‘ए दिल है मुस्किल’ पछि निर्देशकको टोपी लगाउन करण निकै हतारमा छन्। र, उनी दीपिकालाई नै लिएर फिल्म बनाउन चाहन्छन्।


अर्कोतर्फ, भन्साली पनि दीपिका, शाहरुख खान र सलमान खानलाई लिएर फिल्म बनाउने तयारीमा छन्। दीपिका र भन्साली निकै नजिक मानिन्छन्। उनीहरु मिलेर ‘गोलियों कि रासलिला रामलिला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ जस्ता हिट फिल्म दिएका छन्। करण र भन्साली दुवै निकै समय लिएर फिल्म बनाउने र उत्कृष्ट बनाउन रुचाउने निर्देशक हुन्। याे पटक भने दुवै एकै पटक फिल्म बनाउँदै छन् र दीपिकालाई नै हिराेइन बनाउन चाहन्छन्। दुवै बलिउडका उम्दा निर्देशक हुन्। उनीहरुसँग काम गर्न एक से एक नायिका लालयित हुन्छन्। यहाँ हेर्न बाँकी छ, दीपिकाले करण र भन्सालीमध्ये कसरलाई रोज्ने हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।