बनियानी– झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन्।
झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले गोलधाममा पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक घनश्याम साहको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
सोही मोटरसाइकलमा सवार २१ वर्षीय प्रकाश राजवंशीको साथबाट लागुऔषध लुपिजेसिक २० थान, फेनारगन २० थान र डाइजेपाम २० एम्पुल फेला परेको उनले बताए।
पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ।
यता, मेचीनगर नगरपालिका–६ भन्सार गेटबाट खैरो हिरोइनसहित आइतबार दिउँसो शिवसताक्षी नगरपालिका–३ का २६ वर्षीय विकास कार्कीलाई ६ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ।
लागुऔषधसहित पक्राउ परेका कार्कीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।