एजेन्सी– लामो समयदेखि लण्डनमा उपचार गराइरहेका अभिनेता इरफान खान बलिउड फर्किएका छन्। न्युरोएंडोक्राइन ट्युमर नामक रोग लागेका इरफान स्वास्थ्यलाभ गरी बलिउड फर्किएका हुन्।
इरफान बलिउडका उम्दा कलाकार हुन्। समर्थकहरु उनको फिल्म हेर्न प्रतीक्षारत छन्। अब इरफान फिल्ममा फर्कन्छन् कि फर्कंदैनन्? उनको स्वास्थ्य कस्तो छ? यी प्रश्नको जवाफ इरफानका नजिकका साथी तथा निर्देशक तिग्मांशु धुलियाले दिएका छन्।
‘इरफान लण्डनबाट भारत फर्किएपछि मैले उनलाई भेटें,’ तिग्मांशुले भनेका छन्, ‘अब उनी पूरै स्वस्थ छन्। इरफान स्वयंले मलाई भनेका छन्– अब छिट्टै फिल्म ‘हिन्दी मिडियम २’ को सुटिङ सुरु गर्छु।’
इरफानसँग आफूले पनि चाँडै फिल्ममा काम गर्ने तिग्मांशुले बताए। यो फिल्मको स्क्रिप्ट तयार हुँदै गरेको उनले जानकारी दिए। तिग्मांशुले र इरफानले ‘हासिल’, ‘पान सिंह तोमर’ र ‘साहेब बिबी और ग्यांगस्टर रिटन्र्स’ सँगै काम गरिसकेका छन्।
सन् २०१७ मा रिलिज भएको इरफानको फिल्म ‘हिन्दी मिडियम’ बक्स अफिसमा निकै सफल भएको थियो। यसैको सिक्वेलमार्फत इरफान फिल्ममा फर्कन लागेका हुन्।
फिल्मका निर्माता दिनेश विजानले फिल्मको सिक्वेल इरफानविना बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन्। ‘उहाँ चाँडै सुटिङका लागि तयार हुनुहुनेछ,’ विजानले भने। यो फिल्म सन् २०२० मा रिलिज हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।