काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताएका छन्।
सेना दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहन जिम्मेवारी बहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अङ्गका रुपमा राष्ट्रिय लक्ष्य हासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरेका छन्।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यका साथ अघि बढिरहेकाले सेनाले पनि त्यसै मर्मअनुसार काम गर्न अग्रसर हुनुपर्ने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । “नेपाल निर्माणसम्मको यात्रामा सेनाले निर्वाह गरेको भूमिका र पुर्याएको योगदान इतिहासको स्वर्णीम पानामा अङ्कित भइरहनेछ”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “यस अर्थमा सेना दिवस सम्पूर्ण नेपाली र राष्ट्रकै दिवस हो भन्ने मलाई लाग्दछ।”
प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा प्राकृतिक विपत्तिका बखत उच्च हौसला, जोश र सेवा भावका साथ उद्धार कार्यमा खटिने समस्त सैनिकप्रति धन्यवाद ज्ञापन गरेका छन्। नेपाली सेनाले विगतमा झैं आउने दिनमा पनि सरकारले सुम्पिएका निर्माण कार्यलगायतका जिम्मेवारी कूशलतापूर्वक यथासमयमै सम्पन्न गर्ने कुरामा आफू विश्वस्त भएको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।