काँकरभिट्टा- ‘क्रान्ति सम्पन्न भइसकेपछि राजकीय पदमा नभएको व्यक्ति राजनीतिमा किन बसिराख्छ? उसको जिविकोपार्जन कताबाट हुन्छ?’, राजनीतिक विश्लेषक बिष्णु सापकोटाले सोधे। राज्य र पार्टीको पदमा नभएको मानिस पार्टीमा कसरी बसेका छन् भन्नेबारे सापकोटाले सवाल गरेका थिए।
काँकरभिट्टामा जारी ‘कला साहित्य उत्सव’को दोस्रो दिन ‘दलालीको दलदल’बारे विश्लेषक सापकोटा, पत्रकार अखिलेश उपाध्याय र सांसद राम कार्कीले बहस गरेका थिए। उनीहरुले बिचौलियाको बिशेषतादेखि पुँजीवादको पतनसम्मका विमर्श गरेका थिए।
राजनीतिको दलालीकरण
‘पार्टीले कार्यकर्ता व्यवस्थापनको मुद्दामा छिर्नुपर्छ कि पर्दैन? कति लाख कार्यकर्ता किन चाहिन्छ? उनीहरु पार्टीमा आबद्ध भएर कसरी बसेका छन्? ती कसरी बाँचेका छन्?’, सापकोटाले अघि बढे, ‘परिस्थिति र संरचना नै यसरी विकास हुँदै गयो कि राजनीतिमा लाग्ने भनेको वर्षौंको लगानीको प्रतिफल उठाउने हो भनेर दलाली गर्ने काम भइरहेको छ।‘
सापकोटाले नेपालको राजनीतिमै दलालीकरण भएको हो कि भन्ने शंका गरे।
सांसद कार्कीले राजनीतिक क्षेत्रभन्दा बाहेकमा पनि दलाली उत्तिकै रहेको बताए। ‘म राजनीतिमा आबद्ध नभएका दलालका सयौं उदाहरण दिनसक्छु’, उनले दाबी गरे, ‘यो दलदल नेपालमा मात्रै छैन। विश्वव्यापी छ।’
राजनीतिक दलले दलाली गरिरहेको कुरालाई आफूले होइन भन्न नसक्ने कार्कीले बताए।
‘हिजो राजनीतिमा किन नैतिकता र मूल्य थियो? हिजो किन दाह्री पालेर र झोला बोकेर राजनीति गर्थे’, कार्कीले भने, ‘अहिले त्यो सब केका लागि गर्ने? लहडका लागि? मान्छेलाई देखाउन?’
विश्लेषक सापकोटाले अन्य क्षेत्रमा दलाली भए पनि निर्मुलीकरणको सुरुवात भने राजनीतिबाटै हुनुपर्ने बताए। ‘प्रश्न पनि त्यहीँबाट उठ्नुपर्छ। सम्बोधन पनि त्यहीँबाट हुनुपर्छ’, उनले भने।
उपाध्यायले राजनीतिमा मूल्यमान्यतामा ह्रास आएको बताए। पार्टीभित्र संस्थागत विकास हुन नसक्दा दलाली बढेको उनले थपे। ‘चुनावमा करोडौं खर्च गर्ने हैसियत नेताहरुको कहाँबाट आयो?’, उनले सोधे, ‘त्यो पैसा कहाँबाट उठ्ने? बिचौलिया र व्यापारीबाट ल्याएर दिनुपर्ने होला। त्यसले नीतिगत भ्रष्टाचारमा पुर्याउँछ। उनीहरुलाई फाइदा हुने नियम कानुन बनाउने।’
कार्कीले पुँजीवाद विरुद्ध लडाइँ नभएकोमा असन्तुष्टि पोखे। ‘अहिले समाजवाद भनेर सबैले भनिरहेका छन्’, उनले भने, ‘तर, समाजवादको राजनीति कस्तो हुन्छ। त्यहाँ शिक्षा कृषि कस्तो हुन्छ। समाजवादमा व्यक्तिव्यक्तिको सम्बन्ध कस्तो हुन्छ। त्यसबारेमा कहीँ छलफल छैन।‘
पुँजीवाद चलाउने साम्यवादी
कार्कीले सामन्तवादसँग आफूहरु लडेको भए पनि पुँजीवादसँग लड्न नसक्ने बताए। ‘यहाँ समाजवादको कुरामात्रै गरेर बसिरहेको पिँढी पुँजीवादको विरुद्ध लड्न सक्दैन। हामीले छेक्ने मात्रै हो। युवा पिँढीलाई म भन्न चाहन्छ, सामन्तवादका विरुद्ध हामी लड्यौं। लडेकै हो’, उनले थपे, ‘तर अहिलेको पुँजीवाद जब्बर छ। योसँग हामीले केही गर्न सकेनौं। योसँग अलिकति मुकाबिला गर्न खोज्दा हामी नै प्रदुषित भयौं। त्यसैले सक्छौ, यो पुँजीवादसँग लड। सक्दैनौ भने सखाप हुन्छ। किनभने, पुँजीवाद निर्दयी छ। दलाल उत्पन्न गर्छ।’
कार्कीले पुँजीवाद विरुद्ध राजनीतिक लडाइँ लड्दै मूल्य पनि पैदा हुने बताए।
विश्लेषक सापकोटाले नेपालमा पुँजीवाद साम्यवादीले चलाएको बताए।
‘हाम्रो बिडम्बना छ, चाहे अहिले कम्युनिस्टले चलाएको सरकार होस् वा अर्को कोही आएर चलाउने होस्। चाहे शेरबहादुर देउवाले भन्ने समाजवाद होस् वा अहिलेको सरकारले भन्ने समाजवाद होस्। समाजवाद भनेर पेन्सन खाने ठाउँमा पुगेका छौं’, सापकोटाले थपे, ‘हामी राजनीतिको त्यो ठाउँमा पुगेका छौं कि जहाँ कसैले समाजवादको पेन्सन खाने र कसैले लोकतन्त्रको। अर्थात्, जजसले जेका लागि लडेका थिए, त्यसको पेन्सन खाने ठाउँमा पुगेका छौं। दलालीको दलदल बढ्नुको कारण नै त्यही हो।’
नेपालमा कुनै वाद नभएको बरु दलालीकरण नै वाद भएको सापकोटाले बताए।
उपाध्यायले बिचौलियाले पार्टीहरुको नैतिक धरातल खोक्रो पारेको बताए।
र, स्रोताको जिज्ञासा- दलाल समाजवाद
स्रोताका तर्फबाट बिचौलिया शब्दमा सकारात्मक भाव खोज्नुपर्नेदेखि आग्रहदेखि दलाल समाजवाद शब्दको प्रयोगको प्रस्तावसम्म प्रस्तुत भए।
धरानका एलबी बस्नेतले सोधे- हाम्रो देशमा दुई तिहाइ मात्रै होइन, तीन तिहाइ नै समाजवादी छौं। तर हामी दलाल पुँजीवादी व्यवस्था भन्न छाड्दैनौं। दलाल समाजवादी व्यवस्था भन्दा हुँदैन? कि त्यस्तो व्यवस्था छैन?
उनको प्रश्नले दर्शकदिर्घामा हाँसो फैलिएको थियो।
उनको प्रश्नलाई राम कार्कीले सम्बोधन गरेका थिए। ‘जनताले दलाल पुँजीवाद भनेजस्तै दलाल समाजवाद भन्न पनि बेर छैन। त्यस्तो ‘टर्मिनोलोजी’ मैले आजमात्रै सुनेको हुँ’, कार्कीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।