जनकपुर- सङ्घीयता कार्यान्वयन र संविधान संशोधनबारे जनकपुरमा आइतबार छलफल भएको छ। छलफलमा सहभागी हुँदै विभिन्न दलका नेताहरुले आआफ्नै किसिमका तर्क गरेका छन्। विशेष गरी मधेशवादी दल र नेपाली कांग्रेसका नेताहरु सो छलफल कार्यक्रममा उपस्थित रहेका थिए।
सङ्घीयता अनुरुप स्वामित्व बाँडफाँट हुन सकेको छैन : विमलेन्द्र निधि
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले संसदमा ल्याएको प्रहरी तथा कर्मचारीसम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको बताए। निधिले प्रदेशले नै सुरक्षा प्रशासन चलाउनुपर्ने धारणा पनि राखे। उनले सङ्घीयता कार्यान्वयनका लागि प्रदेश मातहत आफ्नै सुरक्षा,आफ्नै प्रशासन, कार्यपालिका, न्यायपालिका हुनु अनिवार्य भएको बताए।
निधिले देशमा सङ्घीयताको हिसाबले स्वामित्वको बाँडफाँड हुन नसकेको भन्दै अधिकार दिन कन्जुस्याइँ गरिएको बताए। उनले भने, ‘सङ्घीयता कार्यान्वयनका लागि प्रदेशमा स्वामित्व हस्तान्तरण भए नभएको विषयमा बहस हुनु आवश्यक छ।’
संविधानले सङ्घीयताको प्रत्याभूत गरे पनि राजनीतिक तथा सामाजिक आधारमा अधिकार प्रत्यायोजन हुन नसकेको उनको भनाइ थियो। निधिले अधिकार प्रत्यायोजनका लागि सबैलाइ आवाज उठाउन आग्रह गरे।
नेकपा सङ्घीयता कार्यान्वयनमा गम्भीर छैन : महन्थ ठाकुर
राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सत्तासिन दल नेकपा सङ्घीयता कार्यान्वयनमा गम्भीर नभएको आरोप लगाए। उनले संविधान जारी गर्नेहरुमध्ये केही तत्व नै सङ्घीयता विरोधी रहेकाले सङ्घीयता कार्यान्वय गर्न बेवास्ता गरेको आरोप लगाए।
उनले वर्तमान सरकारका नेतृत्वकर्ताहरु पञ्चायती शासनकाल समयमा रहेका राष्ट्रियताभन्दा बाहिर आउन नसकेको बताए। ‘पञ्चायती शासनको समयमा स्थापित राष्ट्रियताका तत्वहरुमध्ये एक भाषा, एक भेष भनेजस्तै वर्तमान शासकहरु पनि त्यसबाट बाहिर निस्कन नसकेकै कारण सङ्घीयता कार्यान्वयनमा अवरोभ सिर्जना भइरहेको छ’, नेता ठाकुरको भनाइ थियो।

मधेसको आवाज कमजोर पार्न र अल्पमतमा पार्नकै लागि मधेसको सीमा अतिक्रमण गर्ने गरी प्रदेशको सीमाङ्कन गरिएको ठाकुरको भनाई छ। उनले भने, ‘अन्तरिम संविधानमा आन्दोलनकारी शक्तिको सहमतिकै आधारमा संविधान जारी गर्ने सहमति भएको थियो। तर त्यो हुन नसकेकै कारण असन्तोषका स्वरहरु सुनिन थालिएको छ।’
सरकारले सुरक्षा तथा विकासको अनुगमनको जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिन लागेकोमा ठाकुरले आपत्ति जनाए। उनले प्रमुख जिल्ला अधिकारीहरुलाई प्रदेशभित्रका सुरक्षा तथा विकासको जिम्मा लगाउन लाग्नु सङ्घीयताको मर्म विपरीत रहेको बताए। उनले भने ‘सबैथोक सीडीओकै हातमा दिइयो भने प्रदेश सरकारसँग के नै रहन्छ?’
ठाकुरले मधेसवादी दलसँग विभिन्न समयमा सरकारले गरेको सम्झौताहरु पूरा नगरे फेरि आन्दोलनमै जाने चेतावनी दिए। उनले प्रदेशलाई अधिकार सम्पन्न बनाउने तथा अधिकार प्राप्तिकै लागि वर्तमान सरकारलाई समर्थन गरेको चर्चा गर्दै सहमति कार्यान्वयन नभए सडकमा जानुको विकल्प नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।