जनकपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले वर्ष दिनमा जनताले अनुभूति गर्ने किसिमको कुनै पनि कार्य गर्न नसकेको आरोप लगाएका छन्। उनले भने, ‘ओली सरकारले देशका लागि एउटा पनि उल्लेखनीय काम गर्न सकेको छैन।’
जनकपुर साहित्य-कला तथा अन्तर्राष्ट्रीय नाटक महोत्सवमा सहभागी हुन जनकपुर आइ पुगेको देउवाले आज प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले सरकारले संघीयतालाई कमजोर बनाउने षड्यन्त्रमा लागेको जिकिर गरे।
देउवाले भने, ‘समाजिक सञ्जाल कन्ट्रोल गर्ने बहानामा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको छ,’ देउवाले प्रेस स्वतन्त्रता बिना प्रजातन्त्र सबल हुन नसक्ने बताउँदै उनले भने, 'प्रजातन्त्र र प्रेस एकअर्काको परिपूरक हो। अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन सरकारले ‘साइबर ल’ ल्याएको हो।’
उनले प्रदेश २ को नाम ‘मिथिला’ र भाषा ‘मैथिली’ नै उपयुक्त हुने बताउँदै प्रदेशको स्थायी राजधानी जनकपुर तोक्नु पर्ने बताए।
देउवाले भने , ‘प्रदेशको नाम, भाषा र राजधानीमा कांग्रेस एकमत छ, प्राचिन सहर जनकपुरधाम नै प्रदेशको राजधानीका लागि उपयुक्त छ।’
प्रेस यूनियन धनुषाका अध्यक्ष राजन सिंहको अध्यक्षतामा कांग्रेस पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा देउवाले पत्रकारको एक प्रश्नमा ‘पार्टी भित्रको आन्तरिक समश्या छिट्टै अन्त्य हुने’ भन्दै समस्याहरु समाधान गर्न पार्टीले एक कमिटी समेत गठन गर्ने बताए।
पत्रकार भेटघाटमा कांग्रेस उप सभापति विमलेन्द्र निधि, केन्द्रीय सदश्यहरु आनन्द ढुंगाना, रामकृष्ण यादव, महेन्द्र यादव लगायतका नेताहरु समेत उपस्थित रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।