जनकपुर– राप्रपा अध्यक्ष कमल थापाले राष्ट्र विखण्डनको पक्षमा गतिविधि गर्नेलाई निगरानी गर्न, नियन्त्रण गर्न र कारबाही गर्न सरकारसँग माग गरेका छन्।
थापाले मधेसका जनता राष्ट्रवादी रहेको बताउँदै भने, ‘आज चाहे पहाडका होस् या मधेशका, कुनै पनि देशभक्त नेपाली देश बिभाजन होस् भन्ने चाहना राख्दैनन्, विखण्डनको बीउ रोप्न खोज्ने तत्वलाई छुट दिनु हुन्न।'
उनले सिके राउत समूहबाट खुलेआम राष्ट्र विखण्डनको गतिविधि हुनु दुर्भाग्यपूर्ण रहेको बताउँदै यसलाई समयमै नियन्त्रण गर्न प्रधानमन्त्री र सरकारलाई आग्रह गरे।
पार्टीद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दै जनकपुर पुगेका अध्यक्ष थापाले रामजानकी मन्दिरमा धार्मिक अनुष्ठान गर्ने क्रममा सडकमै आयोजित पत्रकार सम्मेलनमा पवित्र भूमि जनकपुरमा विखण्डनको क्रियाकलाप भएकोमा दुःख समेत व्यक्त गरे।
‘म यही भूमिबाट प्रधानमन्त्री केपी ओलीलाई अनुरोध गर्दछु– राष्ट्र विखण्डनको पक्षमा विभिन्न गतिविधि भएका छन्, यसलाई नदेखे जस्तो, नसुने जस्तो र थाहा नपाएजस्तो नगर्नुस्, विखण्डनको आवाज उठ्नु सामान्य विषय होइन, यसलाई समय मै निस्तेज पार्नुस्, राप्रपाले सरकारलाई पूर्ण सहयोग गर्नेछ,’ थापाले भने।
राप्रपाले फागुन १५ गते ताप्लेजुङबाट प्रारम्भ गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा जनकपुर आइपुगेको छ।
आज महोत्तरीको सोहर्वा, पिपरा, जलेश्वर, हरिगोरीगंगा, पडौल, धमौरा, ध्रुबकुण्ड, बिजलपुर, बर्दिबास हुँदै सर्लाहीको ईश्वरपुर, भेलही, मलंगवामा आमसभा तथा साना सभाहरु हुने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।