काठमाडाैं- संघीय संसदको अर्थ समितिले ‘बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ एक हप्ताभित्र समितिबाट पारित गर्ने तयारी गरेको छ।
अर्थ मन्त्रालयले ताकेता गरेपछि समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सो विधेयकलाई एक हप्ताभित्र पारित हुने गरी छलफल अघि बढाउने निर्णय गरेको हो। अर्थ मन्त्रालयले ताकेता गरेकाले सो विधेयकलाई एक हप्ताभित्र पारित गराउने गरी छलफल सुरु गर्ने निर्णय गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए। सरकारले बिमासम्बन्धी कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन सो विधेयक संघीय संसदमा पेस गरेको थियो।
बैठकमा समितिका सदस्यहरुले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउने गरी अघि बढ्न अर्थ मन्त्रालयलाई सचेत गराएका थिए। समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रको सूचक सकारात्मक नभएको उल्लेख गर्दै त्यसको सुधारमा लागी पर्न सरकारलाई सचेत गराए। पूर्व अर्थमन्त्रीसमेत रहेका उनले समितिले मुलुकको आर्थिक नीतिलाई सही बाटोमा अघि बढाउन सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने आवश्यकता औंल्याए।
समितिकी अर्की सदस्य रामकुमारी झाँक्रीले पुँजी बजारलाई सहज ढंगले अघि बढाउने गरी आवश्यक बैंक तथा वित्तीय संस्थाहरुको व्यवस्था गर्न सरकारसँग माग गरे। उनले सेयर किनबेच हुने गरी सबै बैंक तथा वित्तिय संस्थाहरुको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
समितिका सदस्यहरुले एनसेलको लाभांश कर असुली गर्न पनि सरकारलाई दबाब दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।